मलेसियामा दैनिक १४० विदेशी नागरिकलाई प्रवेश निषेध

आप्रवासन आप्रवासन

क्वालालम्पुर । मलेसियाले आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकमाथि सीमा तथा अध्यागमन जाँच कडा बनाएको छ। मलेसियाली अध्यागमन विभागका अनुसार पछिल्लो समय दैनिक औसत १४० जना विदेशी नागरिकलाई विभिन्न कारण देखाउँदै देश प्रवेश गर्नबाट रोक्ने गरिएको छ।

मलेसियाको समाचार संस्था द स्टारका अनुसार सन् २०२६ को पहिलो १० महिनामा मात्रै ४१ हजार ६५६ जना विदेशी नागरिकलाई प्रवेश अनुमति नदिई ‘नट टु ल्यान्ड’ (एनटीएल) सूचना जारी गरिएको छ। मलेसियाको अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार सन् २०२५ मा ४९ हजार ५२२ जना र सन् २०२४ मा ३४ हजार ५२८ जना विदेशी नागरिकलाई एनटीएल सूचना जारी गरिएको थियो। यसले मलेसियामा प्रवेश गर्न खोज्ने विदेशी नागरिकमाथि अध्यागमन अधिकारीहरूले कडा निगरानी र जाँच गरिरहेको देखाउँछ।

पछिल्लो तीन वर्षको तथ्यांकअनुसार मलेसियामा प्रवेश निषेध गरिएका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै इन्डोनेसियाका नागरिक छन्। यस अवधिमा इन्डोनेसियाका ३४ हजार ६५० जनालाई एनटीएल सूचना जारी गरिएको छ। त्यस्तै, बंगलादेशका २७ हजार ५०४ र भारतका २२ हजार ३५० नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाइएको छ।

एनटीएल भनेको कुनै विदेशी नागरिकलाई विमानस्थल वा अन्य सीमा प्रवेश बिन्दुमा पुगेपछि अध्यागमन जाँचका क्रममा देश प्रवेश गर्न अयोग्य ठहर गर्दै जारी गरिने सूचना हो। यस्तो सूचना जारी भएपछि सम्बन्धित व्यक्तिलाई मलेसिया प्रवेश गर्न दिइँदैन र उनीहरू आएको अन्तिम प्रस्थानस्थलतर्फ फर्कनुपर्ने हुन्छ।

अध्यागमन विभागका महानिर्देशक शाबानका अनुसार मलेसियाको अध्यागमन ऐनको दफा ८(३) अन्तर्गत विभिन्न आधारमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्न सकिन्छ। भ्रमण अवधिका लागि पर्याप्त आर्थिक स्रोत प्रमाणित गर्न नसक्नु, भ्रमणको उद्देश्य स्पष्ट वा विश्वसनीय नहुनु तथा सुरक्षा निगरानी वा कालोसूचीमा पर्नु प्रवेश अस्वीकार गरिनुका प्रमुख कारण हुन्।

त्यस्तै, वैध राहदानी नहुनु वा मलेसिया प्रवेशका लागि आवश्यक भिसा नलिनु पनि प्रवेश निषेधका आधार हुन्। अध्यागमन अधिकारीहरूले यात्रुको कागजात, भ्रमणको उद्देश्य र आवश्यक प्रवेश सर्त पूरा भए–नभएको जाँच गर्ने गरेका छन्।

यसअघि अध्यागमन नियम उल्लंघन गरेका, तोकिएको अवधिभन्दा बढी बसेका, गैरकानुनी रूपमा काम गरेका वा आपराधिक गतिविधिमा संलग्न भएका विदेशी नागरिकमाथि पनि प्रवेश प्रतिबन्ध लगाउन सकिने उनले बताए। यस्ता प्रतिबन्ध कसुरको प्रकृतिअनुसार निश्चित अवधिका लागि वा अनिश्चितकालसम्म हुन सक्नेछन्। प्रत्येक व्यक्तिको अवस्थाअनुसार प्रतिबन्धको अवधि निर्धारण गरिने विभागले जनाएको छ।

मलेसिया प्रवेश गर्दा एनटीएल सूचनाबाट बच्न विदेशी नागरिकले आफ्नो राहदानीको म्याद कम्तीमा छ महिना बाँकी रहेको सुनिश्चित गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ। साथै, फर्कने वा अर्को गन्तव्यसम्म जाने निश्चित हवाई टिकट, बसोबासको प्रमाण र बसाइ अवधिका लागि पर्याप्त आर्थिक स्रोत देखाउन सक्नुपर्नेछ।

त्यसैगरी, मलेसिया प्रवेश गर्ने विदेशी यात्रुले आगमन हुनुभन्दा तीन दिनअघिको अवधिभित्र अनलाइनमार्फत मलेसिया डिजिटल अराइभल कार्ड (एमडीएसी) भर्नुपर्ने व्यवस्था रहेको महानिर्देशक शाबानले बताएका छन्। यद्यपि, तोकिएका छुट प्राप्त समूहका यात्रु भने यस व्यवस्थाबाट मुक्त हुनेछन्।

अन्तर्राष्ट्रिय स्तरमा खोजी भइरहेका व्यक्तिहरूलाई पहिचान गर्न मलेसियाले इन्टरपोलसँग पनि सहकार्य गर्दै आएको उनले जानकारी दिए। इन्टरपोलको रेड नोटिसमार्फत अन्तर्राष्ट्रिय रूपमा खोजी गरिएका व्यक्तिहरूको सूचना आदानप्रदान गर्ने तथा मलेसियाली प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गरी विमानस्थल तथा सीमा नाकामा निगरानी गर्ने गरिएको छ।

मलेसियाको यो कडा अध्यागमन जाँच त्यहाँ रोजगारी, अध्ययन वा भ्रमणका लागि जाने नेपाली नागरिकका लागि पनि महत्त्वपूर्ण छ। विशेषगरी वैध कागजात, उपयुक्त भिसा, भ्रमणको स्पष्ट उद्देश्य र प्रवेशका लागि आवश्यक प्रमाणबिना यात्रा गर्दा विमानस्थलबाटै फर्कनुपर्ने अवस्था आउन सक्छ।