बेलायतमा शिक्षकलाई एआईबाट उत्तरपुस्तिका जाँच्न छुट, विद्यार्थीलाई प्रयोगमा प्रतिबन्ध लगाइएपछि चर्कियो बहस

आप्रवासन आप्रवासन

लण्डन । बेलायतमा शिक्षकहरूले विद्यार्थीको परीक्षा, गृहकार्य तथा परियोजनामा आधारित कोर्सवर्कका उत्तरपुस्तिका जाँच्न च्याटजीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण प्रयोग गर्न पाउने भएका छन्।

तर विद्यार्थीले आफ्नो गृहकार्य तथा कोर्सवर्क तयार पार्न एआई प्रयोग गरेमा भने कडा कारबाही भोग्नुपर्ने नियम बनाइएको छ। शिक्षक र विद्यार्थीका लागि फरक मापदण्ड तय गरिएको भन्दै यस निर्णयले बेलायतको शिक्षा क्षेत्रमा तीव्र बहस निम्त्याएको छ।

बेलायती सञ्चारमाध्यम ‘द मेल अन सन्डे’ का अनुसार परीक्षा नियमन गर्ने निकाय ‘संयुक्त परिषद् फर क्वालिफिकेसन्स’ (जेसीक्यू) ले शिक्षकलाई उत्तरपुस्तिका मूल्याङ्कनमा एआई प्रयोग गर्न अनुमति दिएको हो। अर्कोतर्फ विद्यार्थीलाई शैक्षिक कार्यमा एआईको प्रयोगबाट निरुत्साहित गर्दै कडा प्रतिबन्ध लगाइएको छ। शिक्षकलाई एआई प्रयोग गर्न छुट दिने तर विद्यार्थीलाई सोही प्रविधि प्रयोग गर्दा दण्डित गर्ने नीति विरोधाभासपूर्ण रहेको भन्दै शिक्षाविद्हरूले आलोचना गरेका छन्।

लन्डनको प्रतिष्ठित सेन्ट पल्स गर्ल्स स्कुलका इनोभेसन निर्देशक डा. विल भ्यान रेकले नयाँ दिशानिर्देशलाई ‘एकदमै लज्जास्पद’ र ‘बेतुकको’ भनी टिप्पणी गरेका छन्। शिक्षकलाई एआईबाट उत्तरपुस्तिका जाँच्न दिनु शैक्षिक क्षेत्रमा नाघ्न नहुने सीमारेखा पार गर्नुसरह भएको उनको भनाइ छ।

डा. भ्यान रेकका अनुसार शिक्षकले उत्तरपुस्तिका जाँच्न कुन एआई उपकरण प्रयोग गर्ने भन्ने स्पष्ट सीमा तोकिएको छैन र उनीहरूलाई पर्याप्त तालिमसमेत दिइएको छैन। शिक्षकहरूले मूल्याङ्कनकै लागि बनाइएका विशेष प्रणालीको सट्टा च्याटजीपीटी वा माइक्रोसफ्ट कोपाइलट जस्ता सामान्य एआई च्याटबोट प्रयोग गर्न सक्ने अवस्था छ।

यस्ता सामान्य उपकरणले विद्यार्थीको कोर्सवर्क सही ढङ्गले मूल्याङ्कन गर्न सक्छन् भन्ने पर्याप्त प्रमाण नभएको उनले औँल्याएका छन्। एआईले विद्यार्थीको उत्तरको सन्दर्भ, तर्क, मौलिकता र विषयगत गहिराइ बुझ्न नसक्दा गलत अङ्क दिन सक्ने र त्यसले विद्यार्थीको वास्तविक क्षमताको गलत मापन भई शैक्षिक भविष्यमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

शिक्षकलाई नै एआई प्रयोग गर्ने छुट दिइएपछि विद्यार्थीलाई त्यसको प्रयोगबाट रोक्न नैतिक तथा व्यावहारिक कठिनाइ आउने डा. भ्यान रेकको तर्क छ। ब्रिटेनकी शिक्षामन्त्री लुसी पावेलको अभिव्यक्ति र सरकारी दिशानिर्देशबीच समेत विरोधाभास देखिएको आरोप उनले लगाए।

शिक्षामन्त्रीले संसद्मा उत्तरपुस्तिका मूल्याङ्कनमा एआईको भूमिका उचित नहुने धारणा राखे पनि नियामकको दिशानिर्देशले शिक्षकलाई अनुमति दिएको उनको भनाइ छ। ‘जब शिक्षक आफैँ एआई प्रयोग गरिरहेका छन्, तब विद्यार्थीलाई यसको प्रयोग नगर्न कसरी भन्न सकिन्छ?’ डा. भ्यान रेकले प्रश्न गरे।

आलोचना बढ्दै गएपछि नियामक निकायहरूले आफ्नो निर्णयको बचाउ गरेका छन्। जेसीक्यूका प्रवक्ताले एआईलाई उत्तरपुस्तिका जाँच्ने प्राथमिक वा एकमात्र माध्यम बनाउन नहुने स्पष्ट पार्दै निर्देशिका नियामक नीतिअनुसार नै रहेको बताए। त्यस्तै अर्को परीक्षा नियामक संस्था ‘अफक्वाल’ ले पनि मूल्याङ्कन प्रक्रियामा विषयविज्ञ मानिसको सहभागिता, निगरानी र जवाफदेहिता अनिवार्य हुनुपर्नेमा जोड दिएको छ।

एआईले शिक्षकको कार्यभार घटाउन र मूल्याङ्कन सहज बनाउन सघाए पनि अङ्क निर्धारणको मुख्य आधार मानवीय विवेक र शिक्षकको व्यावसायिक निर्णय नै हुनुपर्ने शिक्षा क्षेत्रका अधिकारीहरूको भनाइ छ।