मलेसियामा न्यूनतम तलब नदिने २०४ रोजगारदाता कारबाहीमा, ५६ हजार ९०० रिंगिट जरिवाना

आप्रवासन आप्रवासन

क्वालालम्पुर । मलेसियामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने २०४ रोजगारदाता फेला परेका छन्। देशभरका विभिन्न क्षेत्रमा गरिएको श्रम निरीक्षणका क्रममा ती रोजगारदाताले श्रमिकलाई मासिक न्यूनतम १ हजार ७०० रिंगिट तलब नदिएको पाइएको हो।

मलेसियाको समाचार संस्था द स्टारका अनुसार सन् २०२६ अगस्ट ३१ सम्म श्रम विभागले देशभरका २८ हजार २५९ रोजगारदाताका कार्यस्थलमा निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा न्यूनतम पारिश्रमिकसम्बन्धी नियम पालना नगरेका २०४ रोजगारदाता पहिचान भएका हुन्। उनीहरूलाई नियमअनुसार तलब उपलब्ध गराउन र आवश्यक सुधार गर्न निर्देशनसहित अनुपालन सूचना जारी गरिएको छ।

मलेसियाका उपमानव संसाधनमन्त्री दातुक खैरुल फिरदौस अकबर खानले नोभेम्बर २३ मा संसद्मा यससम्बन्धी जानकारी दिएका हुन्। उनले साना तथा लघु व्यवसायसहित विभिन्न क्षेत्रका रोजगारदाताको कार्यस्थलमा निरीक्षण गरिएको बताए।

न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश उल्लंघन गरेको आरोपमा श्रम विभागले १२८ वटा अनुसन्धान फाइल खोलेको छ। तीमध्ये ४६ वटा मुद्दामा अभियोजन प्रक्रिया अघि बढाइएको र कुल ५६ हजार ९०० रिंगिट जरिवाना गरिएको मन्त्रीले जानकारी दिए।

कारबाहीमा परेका कम्पनीमध्ये एउटा उत्पादनमूलक कम्पनीलाई ८ हजार रिंगिट र सेवा क्षेत्रको एउटा कम्पनीलाई २४ हजार रिंगिट जरिवाना गरिएको छ। दुवै कम्पनीले कामदारलाई तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएको पाइएको थियो।

यसैगरी, न्यूनतम पारिश्रमिक नपाएको विषयमा श्रम विभागमा २६४ वटा उजुरी परेको मन्त्रीले बताएका छन्। तीमध्ये २३३ वटा उजुरीको टुंगो लगाइएको छ भने १८५ वटा उजुरीमा आधार रहेको पुष्टि भएको छ।

त्यस्तै, सोही अवधिमा श्रमसम्बन्धी ५८५ वटा विवादका घटना दर्ता भएका थिए। तीमध्ये ४७७ वटा विवाद समाधान भएका छन्। प्रभावित श्रमिकलाई तलब तथा अन्य बाँकी रकम उपलब्ध गराउन कुल ८ लाख ९४ हजार ६४६ रिंगिट ७३ सेन बराबरको भुक्तानी आदेश जारी गरिएको मन्त्रीले संसद्मा जानकारी दिए।

मलेसियामा निजी क्षेत्रका रोजगारदाताले उद्योग वा व्यवसायको प्रकृति जस्तोसुकै भए पनि कामदारलाई न्यूनतम मासिक १ हजार ७०० रिंगिट तलब दिनुपर्ने व्यवस्था छ। सन् २०२४ को न्यूनतम पारिश्रमिक आदेश सन् २०२५ फेब्रुअरी १ देखि लागू भएको थियो।

यस व्यवस्थाले मलेसियामा कार्यरत विदेशी श्रमिकलाई समेत प्रत्यक्ष प्रभाव पार्छ। नेपालीसहित विदेशी कामदारलाई रोजगारी दिने कम्पनीहरूले पनि सरकारले तोकेको न्यूनतम पारिश्रमिकको व्यवस्था पालना गर्नुपर्ने हुन्छ। त्यसैले रोजगारदाताले तोकिएको भन्दा कम तलब दिएको अवस्थामा श्रमिकले सम्बन्धित श्रम विभागमा उजुरी गर्न सक्ने व्यवस्था छ।

यसैबीच, मलेसियाले आगामी सन् २०२७ जुन १ देखि न्यूनतम मासिक पारिश्रमिक २ हजार रिंगिट पुर्‍याउने निर्णय गरेको छ। उपमानव संसाधनमन्त्री खानका अनुसार वार्षिक बिक्री आम्दानी ५ करोड रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई भने नयाँ न्यूनतम पारिश्रमिक लागू गर्ने व्यवस्थाबाट छुट दिइनेछ।

साना व्यवसायको आर्थिक अवस्था र सञ्चालन क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले यस्तो छुटको व्यवस्था गरिएको उनले बताए। यद्यपि, छुट पाउने व्यवसायलाई समेत नयाँ न्यूनतम पारिश्रमिक लागू गर्न प्रोत्साहित गरिने सरकारको भनाइ छ।

मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी व्यवस्था र त्यसको कार्यान्वयन नेपाली कामदारका लागि पनि महत्त्वपूर्ण विषय हो। विशेषगरी तोकिएको तलब नपाएका कामदारले आफ्नो पारिश्रमिकसम्बन्धी अधिकारबारे जानकारी राख्नु आवश्यक देखिन्छ।