दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन् । नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पणपछि उनले माल्यार्पण गरेपछि त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो बताएका हुन् ।
पुस्तिकामा भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको उल्लेख गरेका छन् । त्यसक्रममा उनले नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्यो’, प्रधानमन्त्री बालेनको सन्देशमा भनिएको छ ।
त्यस्तै उनले भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले आफूले गान्धीजीको विरासतमा त्यही अमर ज्योति देखेको पनि बताएका छन् । ‘करुणा नै सर्वोच्च शक्ति हो र हामीमध्येका सबैभन्दा निमुखाको निस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित हुन्छ भन्ने गहन सत्य’, शाहको सन्देशमा भनिएको छ ।
साथै, उनले नेपाल र भारत साझा भूगोलले मात्र होइन : आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको बताएका छन् । ‘गान्धीजीको कालजयी भावनाप्रति सम्मान प्रकट गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई पोषित गर्ने नेपालको गम्भीर प्रतिबद्धता पुनः व्यक्त गर्दछु’, शाहले भनेका छन् ।
उनले गान्धीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहुन् भनेका छन् ।
