विदेश सामान पठाउन ९ हजार ५ सय घुस : भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

आप्रवासन आप्रवासन

 विदेशमा कुरियरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा डिल्लीबजारका भन्सार अधिकृत ईन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

कुरियर कम्पनीमार्फत विभिन्न सामान विदेश पठाउनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा अधिकृत न्यौपाने र कार्यालय सहयोगी पुडासैनीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक आपसी मिलेमतोमा सेवाग्राहीसँग बार्गेनिङ गरेको भेटिएको अख्तियारले जनाएको छ।

विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिन सहमत भएर उनीहरूले पूर्वयोजना र सहमतिअनुसार ९ हजार ५ सय रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको ठहर छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ‘आफ्नो पदीय मर्यादाविपरीत आपसी मिलेमतोमा सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि’ दुवै जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले ९ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ। आयोगले दुवै प्रतिवादीलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिएर अदालतमा आरोपपत्र पेस गरेको छ।