अमेरिकाको मिसिसिपीस्थित हर्न आइल्यान्ड नजिक विमान दुर्घटना, सवार सबै यात्रुकाे मृत्यु

आप्रवासन आप्रवासन

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का विवरणअनुसार उक्त विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडिरहेको थियो ।

उडेको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा रहेका बेला विमान अचानक तीव्र गतिमा तल झर्न थालेको देखिएको थियो ।

ट्र्याकिङ विवरणअनुसार दुर्घटनाअघि विमान प्रतिमिनेट करिब १८ हजार फिटको गतिमा तल झरिरहेको थियो । यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हुन आउँछ । त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो ।

यद्यपि विमान अचानक किन खस्यो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

दुर्घटनाको अनुसन्धान एनटीएसबीले गर्ने

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले नेतृत्व गर्नेछ । एफएएले पनि अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । घटनास्थलमा अमेरिकी कोस्ट गार्ड, मिसिसिपी समुद्री स्रोत विभाग र स्थानीय निकायका टोली परिचालित भएका थिए । विमान दुर्घटनाको कारण पत्ता लगाउन प्राविधिक पक्ष, उडान विवरण र अन्य प्रमाणहरूको विश्लेषण गरिनेछ ।

निर्जन टापु नजिक दुर्घटना

हर्न आइल्यान्ड मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा रहेको निर्जन टापु हो । त्यहाँ निजी डुङ्गाबाट मात्रै पुग्न सकिन्छ । बिलोक्सी, ओसन स्प्रिङ्स वा पास्कागुलाबाट डुङ्गामा यात्रा गर्दा करिब ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ ।

करिब १० माइल लामो र एक माइल चौडा यो टापु गल्फ आइल्यान्ड्स नेसनल सिसोरअन्तर्गत पर्दछ । उक्त राष्ट्रिय संरक्षित क्षेत्र मिसिसिपीदेखि फ्लोरिडासम्म फैलिएका दर्जनौँ टापु समेटिएको छ । हर्न आइल्यान्ड गर्मी मौसममा स्थानीय पर्यटकका लागि लोकप्रिय गन्तव्यसमेत हो ।

तर, यसपटक त्यही टापुको उत्तरपूर्वी समुद्री क्षेत्रमा भएको विमान दुर्घटनाले ६ जनाको ज्यान लिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।