प्याराडाइज इन्टरनेसनलमा भेटिए ४६ पासपोर्ट, लिन आउन विभागको आग्रह

आप्रवासन आप्रवासन

काठमाडौं । वैदेशिक रोजगार विभागले एक म्यानपावर कम्पनीमा अनुगमनका क्रममा फेला परेका ४६ थान राहदानी (पासपोर्ट) सम्बन्धित व्यक्तिलाई बुझिलिन आग्रह गरेको छ।

विभागको अनुगमन शाखाले २०८३ भदौ ८ गते जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र प्राप्त संस्था प्याराडाइज इन्टरनेसनल प्रालि (Paradise International Pvt. Ltd.) मा गरिएको आकस्मिक अनुगमनका क्रममा ४६ थान राहदानी फेला परेका हुन्।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४, ३५ र ६१ को उपदफा (२) तथा आकस्मिक टोली परिचालन निर्देशिका बमोजिम विभागले उक्त कम्पनीमा अनुगमन गरेको सूचनामा उल्लेख छ।

विभागका अनुसार २०८३ भदौ ५ गते गरिएको अनुगमनका क्रममा बरामद भएका ४६ थान राहदानीको विवरणसमेत तयार पारिएको छ। ती राहदानी सम्बन्धित व्यक्तिले विभागमा उपस्थित भई बुझिलिनुपर्ने सूचनामा जनाइएको छ।

विभागले सम्बन्धित सबैलाई राहदानी प्राप्त गर्नका लागि विभागमा उपस्थित हुन जानकारी गराएको छ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकका राहदानी म्यानपावर कम्पनीमा रहने विषयलाई मध्यनजर गर्दै विभागले गरेको आकस्मिक अनुगमनका क्रममा यी राहदानी फेला परेका हुन्। यद्यपि, विभागको सूचनामा ती राहदानी किन कम्पनीमा राखिएका थिए भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन।