अमेरिकामा अस्थायी सुरक्षा स्थिति टीपीएस खारेजविरुद्ध नेपालीसहित सात व्यक्तिले ट्रम्प प्रशासनमाथि संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मुद्दा दायर गर्नेमा दुई जना नेपाली टीपीएस धारक एसके र सन्ध्या लामा पनि छन् ।
३३ वर्षीया एसके सान फ्रान्सिस्कोमा बस्छिन्, थिएटरमा काम गर्छिन् र डेटा विज्ञान अध्ययनको योजना बनाएकी थिइन् । तर टीपीएस खारेजीपछि उनको भविष्य अन्योलमा परेको छ। अर्की वादी सन्ध्या लामा भर्जिनियामा बस्छिन् र तीन जना अमेरिकी नागरिक सन्तानको एकमात्र अभिभावक हुन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस खारेज गर्ने निर्णय २०२५ अगस्ट ५ देखि लागू हुने बताएको छ, जसले झन्डै सात हजार पाँच सय नेपालीलाई प्रत्यक्ष असर पार्नेछ । वादीहरूले अदालतमा अमेरिका बसोबास गर्दै आएका नेपालीहरूले वर्षौंदेखि कर तिरेको, काम गरिरहेको र समुदायसँग गहिरो सम्बन्ध बनाएको बताएका छन् ।
उनीहरूले खारेजको निर्णय कानुनी प्रक्रिया र मानवीय मूल्यको उल्लंघन भएको आरोप लगाएका छन् । यहि मुद्दाका कानुनी प्रतिनिधि जेसिका बन्सलले भनिन्, “टीपीएस धारकहरू कानुनअनुसार बसेका छन् । उनीहरूको कानुनी स्थिति खोस्नु निष्ठुर मात्र होइन, गैरकानुनी पनि हो।”
वादीहरूले कम्तीमा पनि पर्याप्त तयारी अवधि र भविष्यमा स्थायी समाधानको बाटो सुनिश्चित गर्न अदालतसँग आग्रह गरेका छन् ।