अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय (ओडीएनआई) ले हालै आफ्नो प्रणालीमा साइबर सुरक्षा उल्लङ्घन भएको पत्ता लगाएका छन्।
यस विषयमा जानकार एक व्यक्तिलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको समाचारअनुसार उक्त साइबर आक्रमणबाट ती निकायका केही अवर्गीकृत (अति गोप्य नभएका) जानकारी बाहिरिएका छन्।
सार्वजनिक तथा अवर्गीकृत सामग्रीबाट गुप्तचर सूचना खोज्ने नेटवर्कमा यो घुसपैठ भएको टाइम्सले उल्लेख गरेको छ। ठ्याक्कै कस्ता प्रकारका अवर्गीकृत सामग्रीमा पहुँच पुग्यो भन्ने स्पष्ट नभए पनि यस घटनाबाट अन्य सरकारी निकायका जानकारीसमेत बाहिरिएको अनुमान गरिएको छ।
यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ओडीएनआईले ‘महत्त्वपूर्ण क्षमता वा गोप्य प्रणालीहरूमा कुनै अवरोध नआएको’ स्पष्ट पारेको छ। अमेरिकी कृषि विभागमा भएको साइबर आक्रमण, संघीय जाँच ब्युरो (एफबीआई) मा हालै सार्वजनिक भएका दुई छुट्टाछुट्टै सुरक्षा उल्लङ्घन तथा पेन्टागन र होमल्यान्ड सेक्युरिटी विभागमा देखिएका प्राविधिक समस्याहरूको शृङ्खलाकै पछिल्लो कडीका रूपमा यो घटना बाहिरिएको हो।
यद्यपि, यो साइबर आक्रमण कसरी भयो भन्ने बारेमा भने प्रतिवेदनमा केही खुलाइएको छैन।