पोर्चुगलको नागरिकतासम्बन्धी नियम

पोर्चुगलमा नागरिकतासम्बन्धी नयाँ कानुनमा तत्काल कुनै परिवर्तन नहुने

आप्रवासन आप्रवासन

पोर्चुगलको नागरिकतासम्बन्धी प्रस्तावित नयाँ र कडा नियमहरू तत्काल लागू नहुने भएको छ । पोर्चुगलको संसदले ९ जुलाई २०२५ मा, नागरिकता कानुनमा हेरफेर गर्न ल्याइएको विवादास्पद प्रस्तावमाथिको विस्तृत छलफललाई सेप्टेम्बर महिनासम्म लम्ब्याउने निर्णय गरेको छ ।

यो निर्णयसँगै हाललाई पुरानै कानुनका प्रावधानहरू यथावत् रहने भएका छन् । र्पोचुगिज सरकारले केही हप्ता अघि अघि सारेको नयाँ प्रस्तावमाथि संसदमा व्यापक बहस भएपछि संसदीय समितिमा थप छलफल र सुनुवाइ आवश्यक रहेको भन्दै निर्णयलाई पर सारिएको हो ।

यो स्थगनले नयाँ नियमहरू लागू हुने हो कि भन्ने चिन्तामा रहेका हजारौं आप्रवासीहरूलाई अस्थायी राहत मिलेको छ । र्पोचुगिज सरकारले अघि सारेको विधेयकमा नागरिकता प्राप्तिका लागि हालको भन्दा निकै कडा नियमहरू प्रस्ताव गरिएको थियो, जसमा सामान्यतया विदेशी नागरिकका लागि नागरिकता आवेदन दिन आवश्यक पर्ने कानुनी बसोबासको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउने प्रस्ताव थियो ।

पोर्चुगिज भाषा बोल्ने देशका नागरिकहरूका लागि यो अवधि ७ वर्ष बनाउने उल्लेख थियो । पोर्चुगिज भाषाको ज्ञानका अतिरिक्त पोर्चुगलको संस्कृति, इतिहास र सामाजिक प्रणालीबारे पनि परीक्षा पास गर्नुपर्ने नयाँ प्रावधान प्रस्ताव गरिएको थियो ।

कुनै पनि किसिमको जेल सजाय हुने फौजदारी अपराधमा दोषी ठहर भएका व्यक्तिहरू नागरिकताका लागि अयोग्य हुने नियम ल्याउने तयारी थियो ।

यो निर्णयले पोर्चुगलमा ५ वर्षको कानुनी बसोबास पूरा गरेर नागरिकताका लागि आवेदन दिने तयारीमा रहेका वा प्रक्रियामा रहेका नेपालीलगायत अन्य देशका नागरिकहरूलाई ठूलो राहत दिएको छ ।