फ्लोरिडाको आप्रवासीविरुद्धको कडा कानुनमा सर्वोच्च अदालतको रोक अमेरिकी सर्वोच्च अदालतले फ्लोरिडामा लागू गरिएको कागजातविहीन आप्रवासीविरुद्धको कडा राज्य कानुनमा हाललाई रोक लगाएको छ ।
रिपब्लिकन गभर्नर रोन डेसान्टिसले फेब्रुअरीमा हस्ताक्षर गरेको उक्त कानुनले आप्रवासन अधिकारीको निगरानीबाट बचेर फ्लोरिडा प्रवेश गर्ने व्यक्तिलाई राज्य अपराध ठहर गर्ने तथा न्यूनतम जेल सजायको व्यवस्था गरेको थियो ।
तर अदालतले यो संघीय अधिकारको उल्लङ्घन भएको ठहर गर्दै कार्यान्वयन तत्काल रोकिने आदेश दिएको हो। कानुन विरुद्ध आप्रवासी वकालत समूहहरू, जस्तै फ्लोरिडा इमिग्रान्ट कोएलिशन र फार्मवर्कर एसोसिएसनले मुद्दा दायर गरेका थिए ।
यो कानूनमा कागजातविहिन आप्रवासीलाई राज्य अपराध ठहर कुरा समेटिएको थियो । अमेरिकी जिल्ला न्यायाधीश क्याथलिन एम विलियम्सले अप्रिलमै उक्त कानुन संविधानविपरीत भएको जनाउँदै रोक लगाएकी थिइन् ।
त्यसपछि पुनरावेदन अदालतले पनि उनको आदेश सदर गरेपछि अब सर्वोच्च अदालतले पनि कार्यान्वयन रोकेको हो । फ्लोरिडा राज्यले यो निर्णयलाई चुनौती दिँदै गैरकानुनी आप्रवासन राज्यमा विनाश मच्चाइरहेको दाबी गरेको छ ।
उनीहरूले सर्वोच्चको आदेशमाथि असन्तोष जनाउँदै अझै कानुनी लडाइँ जारी राख्ने संकेत दिएका छन् । टेक्सास, ओक्लाहोमा र आयोवा लगायत कम्तीमा सात राज्यले यस्तै कानुन अघि सारेका छन्। तीमध्ये चारवटा कानुन अदालतले रोकेका छन् भने बाँकी अझै लागू भएका छैनन् ।