दक्षिण कोरियामा अत्यधिक गर्मीसँगै तातो हावाको लहर चलेपछि सरकारले रोजगारदाता कम्पनीहरूका लागि नयाँ नियम लागु गरेको छ ।
नयाँ नियम अनुसार अब रोजगारदाता कम्पनीले बाहिर काम गर्ने श्रमिकलाई प्रत्येक २ घण्टामा कम्तीमा २० मिनेटको ब्रेक दिनुपर्ने भएको छ ।कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार तापक्रम ३३ डिग्री सेल्सियस पुगेमा अनिवार्य ब्रेक दिनुपर्ने छ ।
ब्रेकको समयमा रोजगारदाता कम्पनीले श्रमिकलाई छायादार विश्राम क्षेत्रहरूसँगै डिहाइड्रेसन हुन नदिने पेय पदार्थ प्रदान गर्नुपर्ने छ । नयाँ नियमको पालना नगर्ने रोजगारदाता कम्पनीको काम रोकिने वा व्यवसाय निलम्बन गरिदिने सरकारको चेतावनी छ ।
सरकारको यो कदम कोरिया उच्च तापक्रमसँग जुधिरहेको बेला आएको हो । सन् १९२० देखि नै कोरियामा गर्मी मौसमको औसत तापक्रम २४ डिग्री सेल्सियस रहँदै आएको थियो ।
तर यस वर्ष तापक्रम ३३ डिग्री नाघेको छ । जुन १ देखि जुलाई ८ भित्रमा कोरियामा तातो हावाको कारण २० वर्षीय भियतनामी श्रमिकसहित २८ जनाको ज्यान गइसकेको छ । यस्तोमा कोरियामा कार्यरत नेपाली श्रमिक समेत उच्च सतर्कता अपनाउन जरुरी देखिन्छ ।