जापानमा रहेका नेपालीसहितका आप्रवासीहरूलाई अब त्यहाँको सवारी साधनको लाइसेन्स पाउन थप मुस्किल हुने भएको छ ।
जापानमा आप्रवासीद्वारा हुने सवारी दुर्घटना बढेपछि जापानी सरकारले सवारी चालक अनुमति पत्र परीक्षा प्रणाली परिमार्जन गर्दै थप कडा बनाउने तयारी गरेको हो ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार लाइसेन्स सम्बन्धी नयाँ प्रणाली आगामी अक्टोबर १ देखि लागू गर्ने तयारी छ ।
जस अनुसार अब पर्यटकलगायत अल्पकालीन भिसामा रहेका विदेशीले आफ्नो लाइसेन्स रूपान्तरण गर्न पाउने छैनन् ।
यस्तै, विदेशी चालकहरूले दिनुपर्ने लिखित परीक्षामा प्रश्नको सङ्ख्या उल्लेख्य रूपमा बढाइने छ ।
हाल लिखित परीक्षामा १० वटा प्रश्न सोध्ने गरिएको छ र ७० प्रतिशत अङ्क ल्याएमा उत्तीर्ण मानिन्छ ।
तर अब भने लिखित परीक्षामा ५० वटा प्रश्न सोधिनेछ र उत्तीर्ण हुनका लागि कम्तीमा ९० प्रतिशत अङ्क ल्याउनु पर्नेछ ।
प्रयोगात्मक परीक्षामा पनि रेलमार्ग क्रसिङ र पैदल यात्रु क्रसिङ जस्ता नयाँ कार्यहरू समावेश गरिने छ जसमा चालकको व्यवहार र कुशलताको मूल्याङ्कन गरिने छ ।
जापानमा सन् २०२४ मा नेपालीसहित कुल ६८ हजार ६२३ विदेशीले लाइसेन्स रूपान्तरण गरेका थिए ।
तर विदेशी चालकहरू संलग्न सडक दुर्घटनाहरू बढ्दै गएको र हालको परीक्षा धेरै सजिलो भएको गुनासो बढेपछि सरकारले नयाँ व्यवस्था गर्न लागेको हो।
नयाँ व्यवस्थाले जापानमा रहेका नेपाली कामदार र विद्यार्थीहरूले लाइसेन्स परीक्षा पास गर्न अब थप तयारी गर्नुपर्ने छ ।
जसले उनीहरूको समय र लागत खर्च समेत बढाउने छ ।