कोरियामा अत्यधिक गर्मी

कोरियामा हुनुहुन्छ ? अत्यधिक गर्मी तथा तातो हावाबाट यसरी जोगिनुहोस्

आप्रवासन आप्रवासन

हाल दक्षिण कोरियामा गर्मीको मात्रा अत्यधिक बढिरहेको छ । यस्तो अवस्थामा कोरियामा कार्यरत नेपाली श्रमिकहरू विशेष सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।

धेरैजसो नेपाली श्रमिकहरू फ्याक्ट्री, वन क्षेत्र वा कृषि क्षेत्रमा कडा मेहनतमा संलग्न हुने भएकाले तातो मौसममा उनीहरू उच्च जोखिममा पर्ने गरेका छन् ।

गर्मीमा बढी समय खुला स्थानमा काम गर्दा हीट स्ट्रोक, डिहाइड्रेशन (निर्जलीकरण), चक्कर लाग्ने, थकान र गम्भीर स्वास्थ्य समस्या देखा पर्न सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो समस्याबाट बच्न विशेष सावधानी आवश्यक रहेको जनाइएको छ ।

सुरक्षाका लागि सबैभन्दा पहिलो उपाय भनेको दिनभर थोरै मात्रामा पटक–पटक पानी पिउनु हो। सकेसम्म इलेक्ट्रोलाइटयुक्त पेय पदार्थहरू – जस्तै ORS वा Pocari Sweat  प्रयोग गर्नुपर्छ।

सामान्य व्यक्तिका लागि दैनिक दुईदेखि तीन लिटर वा भनौ अन्दाजी ८ देखि १२ गिलास पानी पिउनु उपयुक्त मानिन्छ । तर मुटु वा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिहरूले भने चिकित्सकको सल्लाहबिना अत्यधिक पानी सेवन गर्नु हुँदैन ।

गर्मीबाट बच्न हल्का, सेतो वा फिका रङका कपासका कपडा लगाउनु, टोपी र चस्मा प्रयोग गर्नु उपयुक्त हुन्छ । दिउँसो १२ बजेपछि ३ बजेसम्मको समयमा घाम अत्यन्तै चर्को हुने भएकाले सकेसम्म त्यस्तो समयमा काम नगर्नु वा अतिरिक्त सावधानी अपनाउनु पर्छ ।

शरीरलाई चिसो राख्न चिसो टावेल घाँटी वा टाउकोमा राख्न सकिन्छ। साथै, सनब्लक, मिनी फ्यान वा कुलिङ प्याच जस्ता सामग्रीहरूको प्रयोग गर्न सकिन्छ।

मुख सुक्खा हुने, चक्कर लाग्ने, थकान महसुस हुने वा पिसाब गाढा देखिएमा तुरुन्तै पानी पिउनु र आराम गर्नु आवश्यक हुन्छ । यदि गर्मीजन्य लक्षणहरू – जस्तै चक्कर, टाउको दुख्ने, पसिना नआउने, शरीर सुन्निने, मुटुको धड्कन तीव्र हुने – देखिएमा तत्काल छायाँमा जानु, पानी पिउनु र विश्राम गर्नु जरुरी छ ।

कसैलाई अचेत देखिएमा तुरुन्तै आपत्कालीन नम्बर 119 मा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

कृषि क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि बिहान चाँडो वा बेलुकाको समय रोज्नु राम्रो मानिन्छ। छायाँको व्यवस्था मिलाउनु र पानीको बोतल सधैं साथमा राख्नु उपयुक्त हुन्छ ।

अत्यधिक चिसो (बरफ भएको) पानीले पेटमा असर गर्न सक्ने भएकाले मध्यम चिसो वा कोठाको तापक्रममा भएको पानी प्रयोग गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।

गर्मीलाई सामान्य रोगजस्तै ठान्नु जोखिमपूर्ण हुन सक्छ। त्यसैले सतर्कता, सचेतता र सानोतिनो सावधानीले पनि ज्यान बचाउन सकिने हुँदा हेलचक्र्य नगर्न विज्ञहरूले अपिल गरेका छन्।