सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार सम्बन्धी ठगी बढेको भन्दै वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै सचेत गराएको छ ।
विभिन्न प्रलोभनसहितका विज्ञापन गरेर राम्रा देशमा पठाइदिने भनेर पैसा उठाउने तथा पासपोर्टहरू सङ्कलन गरेर दुःख दिने गरेको तथा इ–सेभेन भिसामार्फत कोरिया पठाइदिन्छु भनी गैर कानुनी गतिविधि गरेको गुनासो बढेको विभागको भनाई छ ।
यस्तोमा विभागले विदेश जानुअघि अनिवार्य रूपमा विभागबाट श्रम स्वीकृति लिएको यकिन गर्न, तोकिएको तालिम र स्वास्थ्य परीक्षण पूरा गर्न तथा नेपालकै विमानस्थल प्रयोग गर्न आग्रह गरेको छ ।
कानुन विपरीत श्रम स्वीकृति नलिई, अर्कै मुलुकको विमानस्थल प्रयोग गरी वा गलत सूचना प्रवाह गरेर विदेश पठाउने कार्य गैर कानुनी भएको र यसले श्रमिकलाई विभिन्न जोखिममा पार्ने विभागको भनाई छ ।
यसरी गैर कानुनी बाटोबाट विदेश जाँदा मानव तस्करी, श्रम शोषण र दुर्व्यवहारको खतरा झन् बढ्ने भन्दै विभागले सतर्क गराएको छ ।