सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८ लाख बढीलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्षको प्रगति विवरण सार्वजनिक गर्दै ८ लाख ३९ हजार २७० जनालाई श्रम स्वीकृति प्रदान गरिएको जनाएको हो ।
यसरी विदेश जानेमा ६०.२८ प्रतिशत नयाँ श्रम स्वीकृति लिने र ३९.७२ प्रतिशत पुनः श्रम स्वीकृति लिने छन् ।
त्यस्तै, वैदेशिक रोजगारका लागि १ हजार ७७५ लाइसेन्स वितरण गरेकोमा गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ६९ व्यवसायीहरू सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रस्थान अभिमुखीकरणका लागि १४३ संस्था रहे पनि १३८ संस्थाले मात्रै काम गरेको मन्त्रालयले जनाएको छ ।
एक वर्षको अवधिमा मन्त्रालयले व्यक्तिगत र संस्थागत विवाद समाधान गरी ७ अर्ब २० करोड ८ हजार ३५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।
गत वर्ष ४ हजार ९७५ उजुरी प्राप्त भएकोमा ५२८ मा मेलमिलाप गराइएको छ भने २१५ वटा मुद्दा अदालतमा दायर गरिएको छ ।
त्यसरी दायर मुद्दामा ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ क्षतिपूर्ति दिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
यस्तै एक वर्षमा वैदेशिक रोजगार बोर्डबाट १९ हजार १६८ जनालाई तालिम दिइएको र १ हजार १६० शव नेपाल ल्याइएको छ ।
यसबाहेक बोर्डमार्फत २ हजार ४८५ जनालाई आर्थिक सहायता तथा ३ हजार ४३० जनालाई छात्रवृत्ति दिइएको छ ।