के तपाईंले कहिल्यै लामो समयसम्म फोन चलाउँदा यो तातिएको महसुस गर्नुभएको छ ? थोरै तातो हुनु कुनै असामान्य कुरा होइन । तर यदि फोन बारम्बार र अत्यधिक तातिरहेको छ भने, त्यो संकेत हो कि तपाईंको उपकरणको गहिरो जाँच आवश्यक छ । यस्तो अवस्थामा ढिलाइ नगरी सर्भिस सेन्टरको सल्लाह लिनु नै बुद्धिमानी हुन्छ । तर त्योभन्दा पहिले तपाई आफैले पनि फोन किन तात्छ र धेरै फोन तात्ने समस्याको समाधान के हुन्छ बुझ्न जरुरी छ ।
पहिले जिज्ञासाबाट सुरु गरौँ आखिर किन तात्छ फोन ?
फोनभित्रका केही भागहरू, विशेषतः प्रोसेसर, काम गर्दा स्वभावैले तात्ने गर्छन् । यिनले साधारण अवस्थामा पनि ७५ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा काम गर्छन् । तर जब प्रोसेसरमा अत्यधिक लोड पर्छ — जस्तै, हेभी गेमिङ, भिडिओ सम्पादन वा थुप्रै एपहरू एकैसाथ चलाउँदा — तब फोनको तापक्रम अझ बढ्न थाल्छ । थप कारणहरूमध्ये तपाईको फोनको यी कुनै कारण हुन सक्छ । जस्तै निरन्तर फोन प्रयोगः लगातार लामो समयसम्म फोन चलाउँदा तापक्रम बढ्छ ।कमजोर नेटवर्कः कमजोर सिग्नल हुँदा फोनले नेटवर्क खोज्न धेरै शक्ति प्रयोग गर्नुपर्छ, जसले तातो बनाउँछ । घाम वा तातो स्थानमा राख्नुः फोनलाई कारभित्र वा प्रत्यक्ष घाममा राख्दा पनि तात्न सक्छ । चार्जिङको समयमाः विशेषगरी फास्ट चार्ज गर्दा ब्याट्री तात्ने गर्छ ।
अब बुझ्नुहोस् फोन धेरै तातो हुँदा के असर पर्छ त ?
फोन असाध्यै तात्दा ब्याट्रीको आयु घट्न सक्छ, कार्यक्षमता कम हुन सक्छ, फोन सुस्त हुन सक्छ, र भित्रका संवेदनशील हार्डवेयर भागहरू क्षतिग्रस्त पनि हुन सक्छन् । कहिलेकाहीँ त सुरक्षा उपायस्वरूप फोन आफै बन्द हुन सक्छ । फोनलाई अस्वाभाविक रूपमा तातो हुन नदिने केही उपायहरू भनिहालौँ । लामो समयसम्म गेम खेलेर वा अनेक काम गरेर प्रोसेसरलाई थकित बनाउने बानी घटाउने । फोनलाई प्रत्यक्ष घाम वा अत्यधिक तातो स्थानमा नराख्ने।नयाँ एप इन्स्टल गरेपछि फोन तात्न थालेको छ भने, त्यो एप हटाएर हेर्ने । कहिलेकाहीँ कभरले पनि ताप निस्कन नदिएर समस्या बनाउँछ, कभर हटाएर परीक्षण गर्ने । केवल आधिकारिक चार्जर र केबल प्रयोग गर्ने ।