पोर्चुगलमा विदेशीलाई नागरिकता दिने विद्यमान व्यवस्थालाई कायम राख्न माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ ।
पोर्चुगल सरकारले विदेशीलाई नागरिकता दिन सकिने विद्यमान व्यवस्थामा हेरफेर गर्दै राष्ट्रियता कानुन संशोधन सम्बन्धी विधेयक संसद्मा पेस गरेको सन्दर्भमा त्यसका विरुद्ध हस्ताक्षर अभियान चलाइएको हो ।
अभियानले हालसम्म १२ हजार हस्ताक्षरहरू संसद्मा बुझाएको पोर्चुगलको पत्रिका द पोर्चुगल न्युजले जनाएको छ ।
अभियानले सासंदहरुलाई विदेशीले नागरिकता पाउन सक्ने हालको व्यवस्थामा कुनै संशोधन नगर्न अनुरोध गरेको छ ।
गत महिना सरकारले राष्ट्रियता कानुन संशोधन सम्बन्धी विधेयकमार्फत आप्रवासीलाई नागरिकता दिन सकिने हालको व्यवस्थामा कडाइ गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित नयाँ व्यवस्थामा पोर्चुगिज भाषी देशका आप्रवासीलाई पोर्चुगलको नागरिकता पाउन ७ वर्षको कानुनी बसोबास आवश्यक हुनेछ।
तर नेपालीसहितका गैर पोर्चुगिज भाषी देशका नागरिकले भने पोर्चुगलमा १० वर्ष बसेपछि मात्र नागरिकताका लागि आवेदन दिन पाउने छन् ।
हाल पोर्चुगलमा ५ वर्ष कानुनी रूपमा बसोबास गरेपछि नागरिकता लिन सकिने व्यवस्था छ।
यस्तै, आवेदकको भाषाबाहेक पोर्चुगलको संस्कृति, नागरिक अधिकार तथा कर्तव्यबारे पनि परीक्षण गरिने छ ।
यसबाहेक, पोर्चुगलमा जन्मिएमा विदेशीका सन्तानले समेत अब स्वतः नागरिकता नपाउने भएका छन् ।
त्यस्ता सन्ततिले बाबुआमा ३ वर्षसम्म पोर्चुगलमा बसेको प्रमाण पेस गरेमा मात्र नागरिकताका लागि आवेदन दिन सक्ने छन् ।
यस प्रस्तावित व्यवस्थाले देशमा लामो समयदेखि बसिरहेका आप्रवासीको भविष्य अन्योलमा पार्ने भन्दै त्यस विरुद्धको हस्ताक्षर संसद्मा बुझाइएको हो ।
उक्त विधेयक पोर्चुगलको संसद्मा विचाराधीन छ ।
विधेयक पास भए पोर्चुगलमा रहेका हजारौँ नेपाली समेत मारमा पर्ने छन् ।