वैदेशिक रोजगार विभागको पछिल्लो एक तथ्याङ्कले वैदेशिक रोजगारीमा बद्लिँदै गएको एउटा चित्र प्रस्तुत गरेको छ ।
कुरा हो, हालै सार्वजनिक गत आर्थिक वर्षको वैदेशिक रोजगारीका लागि प्रदान गरिएको श्रम स्वीकृति सम्बन्धी तथ्याङ्कको ।
विभागले गत आर्थिक वर्ष ८ लाख ३९ हजार २६६ नेपालीलाई वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्रदान गरेको छ ।
विभागले त्यसरी विदेशिने कामदारको सीप क्षमता अनुसार ५ वटा श्रेणीमा वर्गीकरण गर्दछ ।
विभागले गरेको उक्त वर्गीकरणले भन्छ-नेपालबाट अदक्षको दाँजोमा विदेशिने दक्ष कामदार आधाले बढी छन् ।
गत आर्थिक वर्षमा २ लाख २७ हजार ४०७ अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
अर्थात्, वैदेशिक रोजगारीमा जानेमध्ये २४ प्रतिशत कामदार सीपका हिसाबले अदक्ष छन् ।
गत वर्ष ५ लाख ६ हजार ८२७ जना सीपयुक्त कामदार विदेशिएका छन् ।
कुल विदेशिएका कामदारको यो ६० प्रतिशत हो ।
अर्थात्, पछिल्लो समय नेपालीहरू कुनै न कुनै सीप बोकेर विदेश गइरहेका छन् ।
केही वर्ष अघिसम्म भने नेपालबाट विदेशिने कामदारमा अदक्ष कामदारको हिस्सा सर्वाधिक हुने गर्दथ्यो ।
यस्तै, पछिल्ला वर्ष अर्ध वा उच्च सीप बोकेर विदेशिने नेपालीको सङ्ख्या समेत बढ्दो देखिन्छ ।
गत आर्थिक वर्ष ९९ हजार ७२३ अर्ध दक्ष र ४ हजार ३७२ व्यावसायिक सीपयुक्त नेपाली विदेशिएका छन् ।
यस्तै, गत आर्थिक वर्षमा उच्च दक्षता भएका ९३७ नेपाली पनि वैदेशिक रोजगारीमा गएका छन् ।