दक्षिण कोरिया जाने

३ महिनामा आधाले घटे दक्षिण कोरिया जाने

आप्रवासन आप्रवासन

गएको ३ महिनामा रोजगार अनुमति प्रणाली, इपिएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको सङ्ख्या आधाले घटेको छ ।

इपिएस कोरिया शाखाका अनुसार गएको अप्रिलदेखि जुनसम्मको अवधिमा १ हजार ७३० श्रमिक कोरिया गएका छन् ।

यो अघिल्लो ३ महिना अर्थात् जनवरीदेखि मार्चसम्मको दाँजोमा १ हजार ९९१ ले कम हो ।

जनवरीदेखि मार्चसम्ममा कोरियाले नेपालबाट ३ हजार ७२१ श्रमिक लगेको थियो ।

पछिल्लो ३ महिनामा सबैभन्दा धेरै उत्पादन क्षेत्रमा गएका छन् ।

उत्पादन क्षेत्रमा यस अवधिमा १ हजार २७४ श्रमिक गएका छन् ।

यस्तै, कृषि तथा पशुपालनको क्षेत्रमा ४५६ जना गएका छन् ।

यस अवधिमा फरेस्ट्री, सिप बिल्डिङ र सेवा क्षेत्रतर्फ भने कोरियाले श्रमिक लगेको छैन । 

इपिएस शाखाका अनुसार अप्रिलदेखि जुनसम्म भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार ६०९ जनाको श्रम सम्झौता आएको छ ।

जसमध्ये उत्पादन क्षेत्रतर्फ १ हजार ८८, कृषितर्फ ५२० र सेवा क्षेत्रका लागि एक जना छन् ।

कोरियाले सन् २००८ देखि नेपालबाट श्रमिक लग्दै आएको छ ।

त्यसयता १ लाख १५ हजारभन्दा बढी युवा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गइसकेका छन् ।

तर पछिल्लो वर्षयता कोरियाको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको छ । जसले गर्दा कोरियाले श्रमिक आपूर्ति कटौती गरेको छ ।