वैदेशिक रोजगारीका विज्ञापन

वैदेशिक रोजगारीका विज्ञापन श्रम संसारको वेबसाइट र एपमा अनिवार्य

आप्रवासन आप्रवासन

अब वैदेशिक रोजगार सम्बन्धी विज्ञापनहरू श्रम संसारको वेबसाइट र एपमा अनिवार्य रूपमा राख्नुपर्ने भएको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एपमार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

सूचनामा अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को उपदफा ३ र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत् रहनेछ।

तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको हो।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागको छ।

विज्ञापन पत्रिकामा मात्रै प्रकाशित हुँदा नागरिक एपमार्फत जानकारी पाउन नसकिने भएकोले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको हो ।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचित गरेको छ ।

अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागको चेतावनी दिएको छ।