मलेसियाको अध्यागमन हिरासत

१७ हजार आप्रवासी कामदार मलेसियाको अध्यागमन हिरासतमा

आप्रवासन आप्रवासन

मलेसियाको अध्यागमन हिरासतमा १७ हजार आप्रवासी कामदारहरू रहेको पाइएको छ ।

मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले जुलाई ६ सम्म देशभरका अध्यागमन हिरासतहरूमा १७ हजार ८९६ कागजातविहीन आप्रवासी रहेको जनाएका हुन् ।

यसरी हिरासतमा रहेका आप्रवासीहरूमध्ये १० प्रतिशत बालबालिका रहेका छन् ।

त्यस्ता बालबालिकालाई कम्तीमा एक अभिभावकको साथ हिरासतमा राखिएको गृहमन्त्री इस्माइलले जानकारी दिएका छन् ।

देशभरका अध्यागमन हिरासतहरूको कुल बन्दी क्षमता २१ हजार ५३० छ ।

त्यो आसपास आप्रवासीहरूको सङ्ख्या पुगेपछि उनीहरूलाई देश निकाला गर्नुको विकल्प नभएको गृहमन्त्री इस्माइलको भनाई छ । 

मलेसियास्थित नेपाली दूतावासका अनुसार हाल मलेसियाका जेलहरूमा १६४ नेपालीले जेल जीवन बिताई रहेका छन् ।

यद्यपि, अध्यागमन हिरासतमा भने कति नेपाली छन् भन्ने यकिन छैन ।

भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसोबास जस्ता कारणले आप्रवासीहरू त्यस्ता हिरासतमा पुग्ने गरेका छन् ।

मलेसियामा अवैध हैसियतमा करिब १ लाखसहित कुल ५ लाख नेपाली छन् ।

त्यसैले त्यस्ता आप्रवासी हिरासत केन्द्रहरूमा ठुलो सङ्ख्यामा नेपालीहरू रहेको अनुमान छ ।