गत आर्थिक वर्षमा १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको नवीकरण सुरु गरिएको छ ।
वैदेशिक रोजगार विभागले आजदेखि त्यस्ता म्यानपावरहरूको नवीकरण सुरु गरेको हो ।
त्यस्ता म्यानपावरको सङ्ख्या ३५० छ ।
यसअघि वैदेशिक रोजगार ऐन–२०६४ अनुरूप ती म्यानपावरलाई निलम्बन गरिएको थियो।
गत आर्थिक वर्षमा १ हजार ६८७ वटा म्यानपावर कम्पनीले इजाजत पत्र लिएका थिए ।
त्यसमध्ये ७२५ वटाले श्रमिक विदेश पठाउँदै आएका छन् ।
तर तीमध्ये पनि ३५० वटा म्यानपावरले वर्षमा एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन सकेनन् ।
ऐनले हरेक आर्थिक वर्षको असार मसान्तसम्म कम्तीमा सय जना श्रमिक पठाउनै पर्ने व्यवस्था गरेको थियो ।
जसलाई ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मार्फत वैदेशिक रोजगार ऐनको सो व्यवस्था हटाइएको छ ।
विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भएर कानुनको रूप ग्रहण गरेपछि म्यानपावरहरूको नवीकरण थालिएको हो ।