ईपिएस कोरिया शाखाले करिब २ साताअघि कोरियन भाषा परीक्षाको आवेदन खुलाउँदै एक सूचना निकाल्यो ।
शाखाले १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका इच्छुकलाई भाषा परीक्षाका लागि साउन २६ देखि ३१ गतेभित्र आवेदन दिइसक्न समेत भन्यो ।
आकर्षक रोजगार गन्तव्य मानिएको कोरियाले यस वर्ष पहिलो चरणमा ५ हजार ३०० जनाको कोटा खुलाएको छ ।
जसमध्ये ३ हजार ५०० लाई उत्पादनतर्फ र १ हजार ८०० जनालाई कृषि तथा पशुपालनमा लग्ने भनिएको छ ।
तर जम्मा ५ हजार ३ सय जनाको कोटामा त्यसको १९ गुणा बढी आवेदन परेको छ ।
शाखाका अनुसार कोरियन भाषा परीक्षाका लागि जम्मा १ लाख २ हजार ५८७ जनाको आवेदन परेको छ ।
जसमध्ये उत्पादनमूलक क्षेत्रका लागि ६७ हजार ३२१ र कृषि तथा पशुपालनमा ३५ हजार २६६ जनाले आवेदन दिएका छन् ।
उसो त, अहिलेलाई कोरियन भाषाको परीक्षा आवेदन मात्र खुलाइएको हो र परीक्षा कहिले हुन्छ भन्ने यकिन छैन ।
तर प्राप्त आवेदनले देशमा बेरोजगारीको समस्या कति विकराल छ भनेर सङ्केत गरेको छ ।
यस्तै, यसले देशमै रोजगारी नपाएपछि विदेश तयारीमा रहेका युवाहरूको बाध्यता समेत झल्काउँछ ।