कोरियामा आप्रवासी कामदार

आप्रवासी कामदारमाथि हिंसा बढेपछि कोरियन प्रहरी एक्सनमा

आप्रवासन आप्रवासन

दक्षिण कोरियामा कार्यरत आप्रवासी कामदारहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको गुनासोपछि कोरियन प्रहरी एक्सनमा उत्रिएको छ ।

कोरियाको गृह तथा सुरक्षा मन्त्रालयले आप्रवासी कामदारहरूमाथि दुर्व्यवहारविरुद्ध १०० दिने विशेष कारबाही अभियान सुरु गरेको हो ।

त्यसका लागि कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीलाई परिचालन गरिएको छ ।

कोरियाका १८ क्षेत्रीय प्रहरी एजेन्सीहरूले नोभेम्बर २५ सम्म आप्रवासी कामदारहरू लक्षित  दुर्व्यवहारका बारेमा अनुसन्धान गर्नेछ ।

जस अन्तर्गत आक्रमण, हिंसा, थुना, जबरजस्ती श्रम, यौन दुर्व्यवहार र श्रम शोषणका घटनाहरूको अनुसन्धान गरिने छ ।

गत जुलाई २४ मा दक्षिण कोरियामा नाजुस्थित एक इँटा कारखानामा काम गर्ने श्रीलङ्काली कामदारलाई  बाँधेर उठाइएको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि कोरियाको ईपिएस प्रणाली र कामदारको अवस्थामा सुधार आवश्यक रहेको भन्दै देशव्यापी रूपमा आक्रोश बढेको छ ।

जसलाई सम्बोधन गर्दै मन्त्रालयले आप्रवासी श्रमिकको अवस्था बुझ्न प्रहरी खटाएको हो । 

प्रहरीसँगै त्यहाँको रोजगार तथा श्रम मन्त्रालयसँग संयुक्त रूपमा स्थलगत निरीक्षण गर्न हटलाइन पनि स्थापना गरिने छ ।

जसमार्फत मन्त्रालयलाई भुक्तानी नगरिएको ज्याला, श्रम शोषण जस्ता विषय तुरुन्तै जानकारी गराउने योजना छ ।