दक्षिण कोरियास्थित नेपाली दूतावासले इ–७ भिसामा कामदार भर्नाको प्रक्रिया सुरु गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इ–७ भिसा अन्तर्गत दक्ष नेपाली कामदारलाई कोरिया पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपाली दूतावासले प्रक्रिया सुरु गरिएको बताएको हो ।
दूतावासले कार्यविधिमा अनुरूपको मापदण्ड पूरा गरेका म्यानपावरहरूलाई नेपाली कामदार पठाउने अनुमति दिइने भएको हो।
जसअनुरूप म्यानपावरसँग इ–७ भिसामा कोरिया जान इच्छुक कामदारहरूलाई तालिम दिन पूर्ण समय प्रयोग गर्न सक्ने तालिम केन्द्र हुनुपर्ने छ ।
तालिम केन्द्रमा कम्तीमा दुई प्रमाणित कोरियाली भाषा प्रशिक्षक अनिवार्य गरिएको छ ।
म्यानपावरहरूले इ–भिसा प्रणालीअन्तर्गत कामदारहरूको माग ल्याउन सम्बन्धित कोरियाली सङ्घ संस्थाहरूसँग सम्झौता गर्नुपर्ने छ ।
साथै, म्यानपावरहरूले नेपाली कामदारबाट कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको हुनुपर्ने छ ।
नेपाली कामदारले दक्षिण कोरियाली सरकारबाट मान्यता प्राप्त संस्था वा इजाजत पत्र प्राप्त संस्थाबाट सञ्चालन हुने कोरियाली भाषा परीक्षा र पेसागत सीप परीक्षण उत्तीर्ण गरेको हुनुपर्ने छ ।
इजाजत पत्र प्राप्त संस्थाले भाषा र सीप परीक्षण उत्तीर्ण गरेका नेपाली कामदारहरूको विवरण वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउनुपर्ने छ ।