विदेशबाट फर्कँदा लगेज हरायो वा टुटफुट भयो भने के गर्ने ?

विदेशबाट फर्कँदा लगेज हरायो वा टुटफुट भयो भने के गर्ने ?

आप्रवासन आप्रवासन

वैदेशिक अध्ययन, रोजगार, भ्रमण वा अन्य प्रयोजन सकाएर नेपाल फर्कँदा कहिलेकाहीँ आफ्नो लगेज हराउने, आइनपुग्ने वा टुटफुट भएर आउने गरेका घटना बेलाबेलामा सुनिने गरेका छन् ।

तर त्यस्तो अवस्था आइपरेमा के गर्ने भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ ।

यस भिडियोमा हामी त्यस्तो अवस्थाको सामना गर्नुपरे के गर्ने भन्ने बारे स्पष्ट जानकारी दिँदै छौँ ।

यदि त्यस्तो अवस्था आइपरे सबैभन्दा सुरुमा आफू यात्रा गरेको जहाज कम्पनीको काउन्टरमा गई कर्मचारीलाई सम्पर्क गरी गुनासो दर्ता गर्नुपर्दछ ।

यो कार्य तपाईँले सामान लिने क्षेत्र छोड्नु अगावै गर्नुपर्दछ ।

त्यस किसिमको अवस्थामा तपाईँलाई सहयोग गर्नु जहाज कम्पनीहरूको दायित्व भित्र पर्दछ ।

तर कम्पनीका कर्मचारीसँग सम्पर्क हुन नसके नेपाल वायुसेवा निगमको लस्ट एन्ड फाउन्ड काउन्टरमा सम्पर्क गर्न सकिन्छ।

यदि लगेज नआएको हो भने यस सम्बन्धमा सम्बन्धित जहाज कम्पनीका कर्मचारीले लगेज प्राप्त हुनासाथ यात्रुलाई सम्पर्क गरेर जानकारी दिनेछन् ।

सामान हराएको वा टुटफुट भई लगेज प्राप्त भयो भने क्षतिपूर्तिका लागि सम्बन्धित जहाज कम्पनीमा दाबी समेत गर्न सकिन्छ ।

नेपाल वायुसेवा निगमको हकमा भने यात्रुले नेपाल एयरलाइन्स कस्टुमर सर्भिसेस् डिपार्टमेन्ट सम्पर्क गर्न सक्छन् ।

यदि यात्राको क्रममा यात्रा बिमा गरिएको छ भने ब्यागेज बुझ्ने ठाउँमा पाएको रिपोर्टको आधारमा बिमा पनि दाबी गर्न सकिन्छ ।

यसबाहेक, तपाईँको सामान विमानस्थल भित्र हराएको भए विमानस्थलमा लस्ट एन्ड फाउन्ड भन्ने छुट्टै युनिट छ ।

त्यस्तो बेला सो युनिटमा सम्पर्क गर्नु पर्दछ ।

लस्ट एन्ड फाउन्ड युनिटमा यात्रुका सामानहरू २ महिनासम्म सुरक्षित राखिन्छ ।

तर २ महिनासम्म सामान हराएका यात्रुले सम्पर्क नगरे त्यस्ता लगेज भन्सारको जिम्मा लगाइन्छ ।

यसबाहेक स्क्रिनमा देखाइएका फोन नम्बरहरुमामा फोन गरेर सोझै वा [email protected] मा इमेल गरेर समेत सम्पर्क गर्न सकिनेछ ।

यो जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूका लागि हो ।

तपाईँलाई यो जानकारी कस्तो लाग्यो ? जानकारीमूलक लागेको खण्डमा आफ्ना साथीभाइ वा आफन्तलाई भिडियो सेयर गर्नुहोला ।

यस्तै प्रकारका अन्य विषयमा जानकारी चाहिएको छ वा जिज्ञासा छ भने हाम्रो सामाजिक सञ्जालका जुनसुकै प्लेटफर्ममा कमेन्ट गर्न सक्नुहुनेछ ।

वा, हाम्रो इमेल ठेगाना [email protected] मा लेखी पठाउन समेत सक्नुहुनेछ ।