आप्रवासीविरोधी र्‍याली

लन्डनमा आप्रवासीविरोधी र्‍यालीमा हिंसा, २५ जना पक्राउ

आप्रवासन आप्रवासन

बेलायतको राजधानी लन्डनमा अधिकारकर्मी टमी रोबिन्सनको नेतृत्वमा आयोजित आप्रवासीविरोधी र्‍याली शनिबार हिंसात्मक बन्दा २६ प्रहरी अधिकारी घाइते भएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि २५ जनालाई पक्राउ गरिएको छ । अन्तराष्ट्रि समाचार एजेन्सीका अनुसार, प्रहरी घेरा तोड्ने प्रयास गरिएपछि झडप सुरु भएको लन्डन महानगरीय प्रहरीले जनाएको छ ।

उक्त र्‍यालीमा करिब पाँच हजार मानिस सहभागी थिए । प्रहरी अधिकारीमाथि आक्रमण गरिएको र प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ढाल र हेल्मेटसहित थप सुरक्षाकर्मी तैनाथ गर्नुपरेको थियो । प्रदर्शनमा चार प्रहरी अधिकारी गम्भीर घाइते भएका जनाइएको छ ।

आयोजकले प्रदर्शनलाई ‘युनाइट द किंगडम’ र्‍याली नाम दिएका थिए । यसलाई अभिव्यक्तिको स्वतन्त्रताका निम्ति गरिएको प्रदर्शन भनिएको थियो । उक्त कार्यक्रमलाई युरोपभरिका अति दक्षिणपन्थी नेताले समर्थन गरेका थिए ।

र्‍यालीका नेतृत्वकर्ता रोबिन्सनमाथि धेरै आपराधिक आरोप लगाइएको छ । उनले यसअघि मुस्लिमविरोधी ‘इंग्लिस डिफेन्स लिग’को नेतृत्व गरेका थिए ।

प्रदर्शनका साथै फुटबल खेल र कन्सर्टजस्ता अरू ठूला कार्यक्रम व्यवस्थापन गर्न राजधानीभर १६ सयभन्दा बढी प्रहरी अधिकारी खटिएका थिए । हिंसाका बारेमा अनुसन्धान जारी रहेको जनाइएको छ ।