अमेरिकाको क्यालिफोर्नियामा कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले ड्युटीको समयमा अनुहार ढाक्ने गरी मास्क लगाउन नपाउने भएका छन् ।
यो कदम हालै लस एन्जलसमा भएको आप्रवासी छापाको प्रतिक्रियास्वरूप आएको बताइएको छ। सांसदहरूले विधेयक पारित गरी
कानुन कार्यान्वयन अधिकारीहरूले ड्युटीका दौरानमा अनुहार ढाक्ने गरी मास्क लगाउन नपाउने कानुनी प्रबन्ध गरेका हुन् ।
यो कानुनलाई गभर्नरले हस्ताक्षर गरे पनि यसलाई सङ्घीय अधिकारीहरूमाथि लागू गर्न सकिन्छ कि सकिँदैन भन्ने स्पष्ट भएको छैन ।
गभर्नर ग्याभिन न्यूसमसँग यो कानुनमा हस्ताक्षर गर्ने वा नगर्ने निर्णय गर्न करिब एक महिनाको समय बाँकी छ।
उनले सङ्घीय एजेन्टहरूले गिरफ्तारीका क्रममा मास्क प्रयोग गरेको भन्दै आलोचना गरेका थिए, तर सङ्घीय अधिकारीमाथि राज्यको अधिकार कति हुन्छ भन्ने विषयमा उनले प्रश्न पनि उठाएका थिए ।
डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको क्यालिफोर्निया विधानसभाले यो विधेयक पारित गरेको हो। यो विधेयकले स्थानीयदेखि सङ्घीयस्तरसम्मका अधिकारीहरू (इमिग्रेसन एजेन्टसमेत) लाई आधिकारिक कामकाजका क्रममा अनुहार छोप्ने ‘नेक गेटर’, स्की मास्क वा अन्य आवरण प्रयोग गर्न प्रतिबन्ध लगाउँछ।
तर, अन्डरकभर एजेन्ट, स्वास्थ्य सुरक्षाका मास्क वा विशेष रणनीतिक उपकरणका लागि भने छुट दिइएको छ ।
ट्रम्प प्रशासनका अधिकारीहरूले भने लगातार मास्कको प्रयोगलाई उचित भएको ठहर गर्दै आएका छन्। उनीहरूका अनुसार, आप्रवासन अधिकारीहरूले आक्रामक विरोध र सार्वजनिक उत्पीडनको सामना गरिरहेका छन् ।