अमेरिकाबाट निष्कासितपछि पुनः प्रवेश गरे न्यूनतम १० वर्ष जेल सजाय हुने
अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा प्रवेश गरेका आप्रवासी निष्कासितपछि पुनः प्रवेश गरे १० वर्ष जेल सजाय हुने भएको छ ।
‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको बिल गत बिहीबार अमेरिकी प्रतिनिधिसभाबाट पारित भएसँगै नियम लागू भएको हो ।
प्रतिनिधिसभामा रिपब्लिकन सांसद स्टेफनी बाइसको नेतृत्वमा पेस गरिएको ‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको बिल पारितका लागि भएको निर्वाचनमा २ सय २६ सांसदले पक्षमा र १ सय ९७ ले विपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सबै सांसद डेमोक्र्याटका थिए ।
बिलको पक्षमा बहुमत सांसदले मतदान गरेसँगै बाइस नेतृत्वको बिल पारित भएको हो । बिल पारितसँगै अब गैरकानुनी रूपमा अमेरिकामा रहेका वा आपराधिक गतिविधिमा संलग्नपछि निष्कासित भएकाहरू पुनः प्रवेशमा थप कडाइ कार्यान्वयन हुनेछ ।
पियु रिसर्च सेन्टरको तथ्यांक अनुसार २०२५ जनवरीसम्म १ करोड ५८ लाख (१५.८ मिलियन) गैरकानुनी आप्रवासी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी आप्रवासी निष्कासनलाई थप कडाइ गरिएको छ । सीमा सुरक्षासँगै अध्यागमन जाँचबुझमा समेत कडाइ गरेपछि २०२५ जनवरीयता गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या घटेको देखिन्छ ।
गैरकानुनी आप्रवासी नियन्त्रण र निष्कासनका लागि ट्रम्प प्रशासनले ७४ बिलियन अमेरिकी डलर बजेट विनियोजन गरिसकेको छ ।