नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंशालाई कारण देखाउँदै क्यानडाद्वारा कैयन नेपालीहरुका भिसा अस्वीकार गरिएको छ ।
क्यानडा घुम्न र अध्ययनका लागि जान आवेदन दिएका नेपालीहका भिसा नेपालको पछिल्लो घटनाक्रमपछि उल्लेख्य रुपमा अस्वीकार गरिएको छ ।
भिसा अस्वीकृतिपछि इमिग्रेशन, रिफ्युजी एण्ड सिजिटनसिप क्यानडाले आवेदकलाई दिएको र खसोखासले प्राप्त पत्रमा भनिएको छ, “सेप्टेम्बर २०२५ मा आवेदक नागरिक रहेको देशमा ठूलो हिंसात्मक विरोध प्रदर्शनहरू भए तथा सुरक्षा र वित्तीय स्थितिमा गम्भीर गिरावट आयो।
आवेदकको वर्तमान परिस्थिति र हालको देशको अवस्थामा क्यानडामा पारिवारिक सम्बन्ध र आर्थिक अवसरहरूको तुलनामा क्यानडाबाट प्रस्थान गर्न प्रेरित गर्ने पर्याप्त सम्बन्धहरू छन् भन्ने कुरामा म सन्तुष्ट छैन।”
भिसाबारे निर्णय गर्ने अधिकारीको नोटमा नेपालको देशको अवस्थालाई उद्धृत गर्दै भिसा अस्वीकार गरिएपछि आवेदकहरु चिन्तित भएका छन् ।
नेपालीको क्यानडाको भिसाको निर्णय सामान्यतया बैंकक र सिंगापुरमा रहेको क्यानेडियन भिसा अफिसले गर्दै आएको छ । क्यानडाको विद्यार्थी भिसाका कतिपय नेपाली आवेदकको भिसा समेत नेपालको देशको अवस्थालाई उद्धृत गर्दै अस्वीकार गरेपछि क्यानडामा अध्ययनको सपना देखेका विद्यार्थीहरु समेत चिन्तित भएका छन् ।