बेलायतले विश्वका उत्कृष्ट वैज्ञानिक, शिक्षाविद् र डिजिटलविज्ञलाई भिसा शुल्क हटाउने योजनामाथि विचार गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।
आर्थिक वृद्धि बढाउने र बेलायतलाई विश्वव्यापी प्रतिभाका निम्ति आकर्षणको केन्द्र बनाउने उद्देश्यले यो कदम चाल्न लागिएको हो ।
अमेरिकाले एच–१बी भिसाको शुल्क बढाएर एक लाख डलर पुर्याएका बेला बेलायतले यो नीति ल्याउन लागेको छ । बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले ‘विश्वव्यापी प्रतिभा कार्यदल’ गठन गरी सुधारका उपाय खोज्न लगाएका छन् ।
प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट र ट्रेजरीका अधिकारीले प्रतिभाशाली व्यक्तिहरूलाई देशमा बस्न सजिलो र सस्तो बनाउने विकल्पबारे छलफल गरिरहेका छन् । त्यसमध्येको एउटा प्रस्ताव उनीहरूका निम्ति भिसा शुल्क पूर्ण रूपमा हटाउने हो ।
कार्यदलको अध्यक्षता प्रधानमन्त्रीका व्यापार सल्लाहकार वरुण चन्द्र र विज्ञानमन्त्री लर्ड प्याट्रिक भ्यालेन्सले गरेका छन् । गृह मन्त्रालय उक्त वार्तामा औपचारिक रूपमा संलग्न छैन । तर, अधिकारीहरूले सबै आप्रवासन मार्गको समीक्षा भइरहेको बताएका छन् ।
विश्वव्यापी प्रतिभा भिसा सन् २०२० मा सुरु गरिएको थियो । यसको शुल्क प्रतिआवेदक ७६६ पाउन्ड स्टर्लिङ छ । साझेदार र बालबालिकालाई पनि त्यही शुल्क लाग्छ । साथै, प्रतिव्यक्ति वार्षिक स्वास्थ्य अधिभार एक हजार ३५ पाउन्ड स्टर्लिङ लाग्छ ।
यो भिसा विज्ञान, इन्जिनियरिङ, चिकित्सा, मानविकी, डिजिटल प्रविधि वा कला र संस्कृतिमा नेता वा भविष्यका नेताका रूपमा मान्यता प्राप्त व्यक्तिहरूका निम्ति हो ।