चिनमा टाइफुन आतंक

टाइफुन रगासा चिनियाँ तटमा ठोक्किने सम्भावना

आप्रवासन आप्रवासन

विश्वको सबैभन्दा शक्तिशाली टाइफुनमध्ये एक रगासाले पूर्वी एसियाली मुलुकमा भारी वर्षा र विनाश मच्चाइरहेको छ । यसै कारण हङकङमा ७०० भन्दा बढी उडान रद्द भएका छन् ।

उता, ताइवानमा यस टाइफुनका कारण अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण १४ जनाको ज्यान गएको छ । अन्य धेरै मानिस बेपत्ता छन् । अधिकारीहरूले यो टाइफुन आजै चीनको तटमा ठोक्किने सम्भावना रहेको बताएका छन् ।

पछिल्लो जानकारीअनुसार, ताइवानमा ठूलो क्षति पुर्‍याएपछि शक्तिशाली टाइफुन रगासा चीनतर्फ अघि बढिरहेको छ । बुधबार दिउँसोदेखि अबेर साँझको बीचमा यो चीनको ग्वाङडोङ प्रान्तको तटमा ठोक्किनेछ ।

अनुमानअनुसार, यो हङकङबाट करिब १०० किलोमिटर दक्षिणमा ल्यान्डफल गर्नेछ । मंगलबार ताइवानको हुआलिएन काउन्टीमा लगातार परेको भारी वर्षाले एक तालको बाँध फुटाउँदा पानीको तीव्र बहावले एक पुल बगाएको थियो ।

यस्तै, गुआङफू सहरमा पानीको तीव्र बहावले सडकमा रहेका धेरै गाडी र घरका सामानहरू बगाएको थियो । करिब आठ हजार ४५० जनसंख्या भएको त्यस सहरमा आधाभन्दा बढी मानिसहरू अग्लो स्थान वा आफ्नै घरका माथिल्लो तल्लामा शरण लिन बाध्य छन् ।

स्थानीय अधिकारीहरूले राहतकर्मीहरू घरघर पुगेर मानिसहरूको खोजी कार्य गरिरहेको जनाएका छन् । टाइफुन रगासाले फिलिपिन्सको उत्तरी लुजोन क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । त्यहाँ भूस्खलनमा फसेका एक वृद्धसहित चार जनाको मृत्यु भएको छ ।

यस तुफानबाट करिब सात लाख मानिस प्रभावित भएका छन् भने २५ हजारभन्दा बढीलाई सरकारी राहत शिविरमा शरण लिनुपरेको छ ।