भारतमा लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित जारी बन्द र प्रदर्शनका क्रममा बुधबार लेहमा अवस्था तनावपूर्ण बनेको छ । प्रहरीसितको झडपमा चारजनाको मृत्यु भएको छ । ४० प्रहरीसहित कम्तीमा ८० जना घाइते छन् ।
प्रदर्शनकारीले त्यहाँस्थित भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका थिए । भोक हडतालमा बसेका जलवायु अभियन्ता सोनम वाङचुकले एक भिडियो सन्देश जारी गर्दै लेहमा भएको हिंसाप्रति दुःख व्यक्त गरेका छन् ।
शान्ति कायम राख्न उनले सबैलाई आह्वान गरेका छन् । त्यहाँको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लद्दाखको अवस्था नियन्त्रणमा रहेको र अपराह्न ४ बजेपछि कुनै नयाँ हिंसात्मक घटना नभएको जनाइएको छ ।
मन्त्रालयले नागरिकलाई मिडियालाई हिंसा भड्काउने खालका भिडियो प्रसारण नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “बिहान भएका दुर्भाग्यपूर्ण घटनाहरूबाहेक अपराह्न ४ बजेसम्म लद्दाखमा स्थिति नियन्त्रणमा आइसकेको छ ।”
गृह मन्त्रालयले वाङचुकले भीडलाई उक्साएको जिकिर पनि गरेको छ ।