इरानको चेतावनी

राष्ट्रसंघको प्रतिबन्धपछि इरानले विभिन्न देशका आफ्ना राजदूतलाई फिर्ता बोलायो

आप्रवासन आप्रवासन

इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आणविक कार्यक्रमका विषयमा विश्वव्यापी प्रतिबन्धको पुनर्बहालीको घटना आकाश खसेजस्तो स्थिति नभएको प्रतिक्रिया दिएका छन् ।

उनी शनिबार न्युयोर्कबाट फर्कंदै थिए, जहाँ उनी पश्चिमा देशलाई यो कदम (प्रतिबन्ध) टार्नका निम्ति मनाउन असफल भएका थिए । पेजेश्कियान न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएका थिए । राष्ट्रसंघका सबै प्रतिबन्ध शनिबार रातिदेखि लागु भएको छ ।

राष्ट्रसंघका प्रतिबन्धको पुनर्बहालीमा इरानले तत्कालको प्रतिक्रियात्मक कदम शनिबार घोषणा गरेको छ । त्यसअन्तर्गत इरानले बेलायत, फ्रान्स र जर्मनीबाट आफ्ना राजदूतलाई सल्लाह/परामर्शका निम्ति फिर्ता बोलाएको छ । इरानले योभन्दा पनि कडा कदम चाल्ने चेतावनी दिएको छ ।

बेलायत, फ्रान्स र जर्मनीले ३० दिनको प्रक्रिया सुरु गरेका थिए । त्यसमा उनीहरूले इरानमाथि सन् २०१५ को आणविक सम्झौताको उल्लंघन गरेको आरोप लगाएका थिए । यो सम्झौता इरानलाई आणविक हतियार बनाउनबाट रोक्न गरिएको थियो । इरानले आफूले आणविक हतियार बनाउन नचाहेको जिकिर गर्दै आएको छ ।

इरानले पश्चिमी देशलाई प्रतिबन्धको पुनर्बहालीले गम्भीर नतिजा निम्त्याउने चेतावनी दिएको छ । यद्यपि, पेजेश्कियानले इरानले आणविक अप्रसार सन्धिबाट बाहिरिने मनसाय नराखेको बताए । समाचार एजेन्सी रोयटर्सका अनुसार, त्यसमा सम्पत्ति फ्रिज (जफत) गर्नु, यात्रामा प्रतिबन्ध, युरोपेली प्रतिबन्धको फिर्ती र अर्को सातादेखि अमेरिकी प्रतिबन्धको असर समावेश हुनेछ ।