रुस–युक्रेन युद्धमा १०१ नेपालीको मृत्यु, १२५ बेपत्ता

आप्रवासन आप्रवासन

काठमाडौँ । रुस–युक्रेन युद्धमा हालसम्म १०१ जना नेपाली मारिएको र १२५ जना बेपत्ता रहेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छ । रुसी सरकारले त्यहाँको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई मृतकको बारेमा जानकारी गराएको हो । 

रुस र युक्रेनबिच युद्ध जारी छ । नेपाली युवा रुसी सेनाका तर्फबाट युद्धमा सहभागी छन् । तीमध्ये केही दसैँ–तिहारको अवसरमा नेपाल आए पनि फेरि रुसमै फर्किएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले रुसी सेनामा भर्ना भएका १०१ जनाको मृत्यु भएको जानकारी आफूहरूलाई प्राप्त भएको बताइन् ।

युद्धका क्रममा मारिएका केही नेपालीको आधिकारिकता पुष्टि हुन बाँकी छ । सनाखतका लागि रुस सरकारले माग गरेअनुसार यताका आफन्तहरूको डीएनए पनि रुस पठाएको उनले सापकोटाले बताइन् ।

मृतक, घाइते तथा बेपत्ता भएकाको परिवार विभागको सम्पर्कमा आएको र उनीहरूलाई आवश्यक सहजीकरण गर्ने काम आफूहरूबाट भइरहेको उनको भनाइ छ ।

रुसबाट नेपाली फर्काउने अभियानमा लागेकी कृतु भण्डारी सरकारको यो तथ्याङ्क गलत रहेको दाबी गर्छिन् । उनले भनिन्, ‘१५६ जना मृतकको त यहाँ काजकिरिया नै भइसकेको छ भने सरकारले कसरी १०१ जनाको मृत्यु भएको भन्यो ? सरकारले तथ्याङ्क लुकाइरहेको छ । मृतकको सङ्ख्या धेरै बढी छ ।’ 

आफ्नो जानकारीमा आए अनुसार रुसले पाँच जना नेपाली मृतकको अस्तुमात्र नेपाल पठाएको भण्डारीले बताइन् । उनले भनिन्, ‘रुसी सेनामा भर्ना भएकामध्ये हाम्रो सम्पर्कमा आएका ६९९ जनाको नाम तत्कालीन परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठलाई बुझाएका थियौँ, तर त्यसमा कुनै सुनुवाइ भएन ।’ 

त्यतिबेला नै सरकारबाट प्रभावकारी पहल भइदिएको भए यति नेपाली मर्ने थिएनन् भन्ने उनको तर्क छ । रुसी सेनामा भर्ना भएकामध्ये तीन सयभन्दा बढी हराइरहेको तथ्याङ्क आफूसँग रहेको भण्डारीले बताइन् ।

उनले युक्रेनको कब्जामा ११ जना नेपाली रहेको दाबी गरिन् । नेपालले पहल सुरु गरेपछि रुसी सेनामा भर्ना भएका धेरै नेपाली घर फर्केका थिए । त्यसमध्ये कतिपय अहिले रुस नै फर्किसकेको उनको भनाइ छ । रुसी सेनामा रहेका कतिपय नेपालीले उतैको नागरिकता प्राप्त गरिसकेको उनले बताइन् । 

महानिर्देशक सापकोटा भने मृतक तथा घाइतेका परिवारले पाउने क्षतिपूर्ति लिन उतै जानुपर्ने बताउँछिन् । त्यसका लागि आफूहरूले सहजीकरण गरिरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्म ३–४ जना मृतक परिवारले मात्र पूर्ण क्षतिपूर्ति पाएका छन् । बाँकीको हकमा भने प्रक्रिया चलिरहेको उनले बताइन् । 

अभियन्ता भण्डारीका अनुसार क्षतिपूर्तिका लागि २१ जना मृतक परिवारसँग रुसी सरकारको सम्झौता भइसकेको छ । त्यसमध्ये केहीले क्षतिपूर्ति पाइसकेका छन् भने कतिपयले एक–दुई किस्ता पाएका छन् । रुसी सरकारले चार किस्तामा क्षतिपूर्ति दिने गरेको छ ।