ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा तथा सीप परीक्षा पास गरेका युवाहरूले कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु गरेका छन्।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि दक्षिण कोरिया जान नपाएका युवाहरूको समूहले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् |
सन् २०२५ का लागि परीक्षामा सहभागी भएका १ लाख ६३ हजारमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये धेरैजसोको अहिलेसम्म करार सम्झौतासमेत हुन नसकेका कारण उनीहरू दक्षिण कोरिया जान पाएका छैनन्।
आन्दोलनरत युवाहरूले अब थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले पहिले नै पास गरिसकेका कामदारहरूलाई कोरिया पठाउनुपर्ने माग राखेका छन्।
दक्षिण कोरियाले सन् २००८ देखि ईपीएस प्रणालीमार्फत अदक्ष नेपाली कामदार लैजान सुरु गरेको थियो। हाल कोरियामा करिब एक लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन्।