ईपीएस भाषा परीक्षा आजदेखि सुरु

आप्रवासन आप्रवासन

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएका नेपाली युवाहरूको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। पहिलो चरणमा उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिने ६७ हजार जनाको परीक्षा सञ्चालन भइरहेको छ। सन् २०२५ का लागि ईपीएसमार्फत कोरिया जान इच्छुक कुल एक लाख दुई हजार ५१५ जनाले आवेदन दिएका छन्। तीमध्ये उत्पादन क्षेत्रका आवेदकलाई प्राथमिकता दिँदै भाषा परीक्षा शुरु गरिएको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिने ३५ हजार जनाको परीक्षा हुने छ। यसअघि रोस्टरमा रहेका युवाहरूले आफूहरूलाई पहिला कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न आग्रह गर्दै आएका थिए। त्यसैबेला उत्पादन क्षेत्रमा आवेदन गरेका ६७ हजार युवाको परीक्षा भने रोकावटबिना सुरु भएको हो। ईपीएस शाखाका अनुसार भाषा परीक्षा दुई महिनाभित्र पूरा गर्ने तयारी छ। वर्तमानमा १७ ईपीएस सदस्य राष्ट्रमध्ये दक्षिण कोरियाले नेपालबाट सबैभन्दा धेरै श्रमिक लैजाने गरेको तथ्यांक छ।