मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि कार्यान्वयन भइरहेको एमसीसी कम्प्याक्टअन्तर्गत थप ५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ। करिब ७ अर्ब रुपैयाँ बराबरको यो सहयोगसँगै परियोजनाअन्तर्गत कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। सम्झौताअनुसार कम्प्याक्टका लागि अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर लगानी हुने व्यवस्था छ।
अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा यो अतिरिक्त आर्थिक सहयोग नेपाल–अमेरिका दीर्घकालीन साझेदारीको प्रतिबिम्ब भएको उल्लेख छ। ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र पारस्परिक समृद्धिका क्षेत्रमा दुवै देश दशकौँदेखि सहकार्य गर्दै आएको र एमसीसी कम्प्याक्टले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित अनुदानमार्फत यो इतिहासलाई निरन्तरता दिएको दूतावासले जनाएको छ।
अतिरिक्त अनुदानले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार निर्माणमा गति मिलाउने, ऊर्जा ग्रिड सुदृढीकरण, क्षेत्रीय ऊर्जा व्यापार विस्तार र अन्तर्राष्ट्रिय कनेक्टिभिटी मजबुत पार्ने अपेक्षा गरिएको छ। यसले अमेरिकी प्रविधि तथा कम्पनीहरूको सहभागिता बढाउँदै नेपाली ऊर्जा बजारमा नयाँ अवसर खुल्ने पनि बताइएको छ।
यद्यपि कम्प्याक्ट लागू भएको दुई वर्ष पूरा हुन लाग्दासमेत दुवै पक्षबाट बजेट खर्च अपेक्षा अनुसार हुन नसकेको र परियोजना समयमै सकिनेबारे प्रश्न उठ्न थालेका छन्।