सांस्कृतिक धरोहर बचाउन बेलायतमा बस्ने नेपाली एकजुट

आप्रवासन आप्रवासन

 

युनाइटेड किङ्डमको स्कटल्याण्डस्थित एडिनबरगको लिथमा रहेको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर अस्तित्व संकटमा परेपछि बेलायतभरिका नेपालीहरू एकजुट भई यसलाई बचाउन अभियान सञ्चालन गरिरहेको छन्। नेपाली कला, संस्कृति र पहिचान संरक्षणमा दीर्घकालीन योगदान दिँदै आएको यो केन्द्र करिब ७ लाख पाउन्ड मूल्यको सांस्कृतिक धरोहर मानिन्छ। आर्थिक तथा अन्य व्यवस्थापकीय चुनौती बढ्दै गएपछि भवन लिलाम हुने जोखिम देखिएपछि नयाँ अध्यक्ष मनीष खत्रीको नेतृत्वमा गठन भएको बोर्डले केन्द्रको भविष्य सुरक्षित गर्ने दृढ संकल्पसहित ठूलो राष्ट्रव्यापी अभियान सुरु गरेको हो। 
बोर्डले २ लाख ५० हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेकोमा १ लाख ७० हजार पाउन्ड सङ्कलन भइसकेको छ। केन्द्रको मासिक बैंक किस्ता तिर्दै आएको र भविष्य सुरक्षित गर्न अहिले अझै ६७ हजार ४२५ पाउन्ड आवश्यक रहेको अधिकारीहरूले बताए। अभियानमा अध्यक्ष मनीष खत्री, सचिव रिता गौतम, कोषाध्यक्ष पीटर डिप्नाराइन, निर्देशक शशी कार्कीलगायत बोर्ड सदस्य, सल्लाहकार, समुदाय अगुवा तथा स्वयंसेवकहरूको सक्रियता उल्लेखनीय छ। 
एनआरएनए यूके, नेपाल स्कटल्याण्ड एसोसिएसन तथा विभिन्न नेपाली समुदाय संगठनहरूले सहयोग दिन थालेका छन्। हालै आयोजित विशेष कार्यक्रममा १३० भन्दा बढी सहभागीले केन्द्रको दीर्घकालीन समाधानका लागि सुझाव राखे। नेपाली भाषा कक्षा, सांस्कृतिक नृत्य, विवाह–व्रतबन्ध, जन्मदिन तथा चाडबाडका कार्यक्रम सञ्चालन हुने यो भवन यूकेवासी नेपालीहरूको साझा घरका रूपमा स्थापित छ। 
निर्देशक शशी कार्कीका अनुसार नेपाल र अन्य देशका नेपालीहरूबाट पनि सहयोग र लगानीका प्रस्ताव आइरहेका छन्। त्यस्तै तमुधी यूकेले २ हजार पाउन्ड सहयोग प्रदान गरेको छ। यो अभियान अहिले सांस्कृतिक धरोहर बचाउनु मात्र नभई, सम्पूर्ण यूकेवासी नेपाली समुदायलाई एकता र पहिचानको सूत्रमा बाँध्ने प्रतीक बनेको छ।