अमेरिकाद्वारा यात्रा प्रतिबन्ध विस्तारको तयारी

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई अझ कडा बनाउँदै हाल रहेका १९ देशको सूचीलाई ३०–३२ देशसम्म विस्तार गर्ने तयारी गरेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले सूची विस्तारका लागि सिफारिस गरिसकेको समाचार संस्था सीएनएनले जनाएको छ।

गत हप्ता दुई नेशनल गार्डका सदस्यमाथि भएको गोलीकाण्डपछि आप्रवासन नियन्त्रणलाई थप कडा बनाउने उद्देश्यले यात्रा प्रतिबन्ध विस्तारको योजना अघि सारिएको बताइन्छ। सरकारका अनुसार प्रतिबन्धमा पर्ने नयाँ देशहरूको नाम चाँडै सार्वजनिक गरिनेछ।

ट्रम्प प्रशासनले हाल १२ देशका यात्रुहरूलाई पूर्णरूपमा प्रतिबन्ध लगाइरहेको छ भने ७ देशमा आंशिक प्रतिबन्ध लागू छ। प्रतिबन्ध सूचीमा परेका देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न नपाइनेछ, र भविष्यमा परिस्थितिको मूल्यांकन गर्दै सूची थप विस्तार हुन सक्ने जनाइएको छ।

हाल पूर्ण प्रतिबन्ध झेलिरहेका देशहरूमा अफगानिस्तान, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमन रहेका छन्। यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला आंशिक प्रतिबन्धको सूचीमा छन्।