पोर्चुगलको मदेइरामा दुई दिने घुम्ती शिविर सञ्चालन हुने

आप्रवासन आप्रवासन

पोर्चुगलको मदेइरा आइल्याण्डमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि दुई दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ। लिस्बनस्थित नेपाली दूतावासको टोलीले डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) मदेइराको फुन्चाल शहरमा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्ने तयारी गरेको हो।
दूतावासका अनुसार शिविरमा राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), पारिवारिक कागजात तथा अन्य कन्सुलर कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायत सेवा उपलब्ध गराइनेछ। साथै, म्याद सकिएका, हराएका, क्षति भएका वा छ महिनाभन्दा कम म्याद बाँकी रहेका राहदानीका लागि विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन आवश्यक जैविक विवरणसहितको आवेदन पनि संकलन गरिनेछ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार मदेइरा आइल्याण्ड राजधानी लिस्बनबाट टाढा भएकाले त्यहाँका नेपालीले राहदानी तथा कागजात प्रमाणीकरणका लागि ठूलो कठिनाइ भोग्दै आएका छन्। “स्थानीय नेपाली समुदायलाई सहज सेवा दिन दूतावासको बिदा दिन सदुपयोग गर्दै टोली खटाएका हौँ,” राजदूत पौडेलले बताए। उनका अनुसार यस पहलले मदेइरामा रहेका नेपालीले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ र आवश्यक कागजात छिटो–छरितो रुपमा उपलब्ध हुनेछ।
यसअघि गत महिना दूतावासले पोर्चुगलको फारो सहरमा पनि यस्तै घुम्ती शिविर सञ्चालन गरेको थियो, जसबाट स्थानीय नेपाली समुदायले ठूलो लाभ पाएका थिए। मदेइरामा हुन लागिरहेको यो शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीका लागि थप राहत मिल्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।