बेलायती अदालतद्वारा नेपाली ढकाललाई कठोर सजाय

आप्रवासन आप्रवासन

बेलायतको क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरोमा बस्दै आएका ४९ वर्षीय नेपाली नागरिक प्रमोद ढकाललाई बलात्कार तथा यौन दुराचारका विभिन्न मुद्दामा २५ वर्ष कैद सजाय सुनाएको छ। सजाय भुक्तान गरेपछि पनि उनलाई थप आठ वर्ष विशेष निगरानी (लाइसेन्स) मा राखिने अदालतले आदेश दिएको छ।

ढकाल १७ वर्षको अवधिमा भएका २५ वटा यौन अपराधमा दोषी ठहर भएका छन्। तीमध्ये १३ वर्षमुनिका बालिकामाथि पाँच पटक, १३ वर्षमाथिका बालिकामाथि दुई पटक तथा आठ वर्षकी नाबालिकामाथि समेत बलात्कार गरेको अदालतले पुष्टि गरेको हो। उनका अधिकांश पीडित पिटरबरो क्षेत्रका रहेकालाई चिनिन्छ, जबकि एक जनामाथि भने उनले लन्डनमा दुराचार गरेको पाइयो। स्थानीय समुदायमा धार्मिक तथा विश्वासिलो व्यक्तिका रूपमा पहिचान बनाएका ढकालले यही पहुँच र भरोसाको दुरुपयोग गरी यौन दुराचार गर्दै आएको अदालतले ठहर गरेको छ। पीडितमध्ये धेरैजना ढकालसँग पारिवारिक नाता÷घनिष्ठ सम्बन्ध भएका व्यक्ति रहेका छन्, जसमा एकै परिवारका धेरै सदस्य पनि समावेश छन्।

सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल यसअघि सन् १९९८ मा लन्डन आएका थिए। पिटरबरोमा नेपाली समुदायसँग नजिक रहेका उनी रेस्टुरेन्ट व्यवसाय र पण्डित–पूजापाठमा सक्रिय थिए। ढकालको अभियोग र सजायबारे बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशित गरेका छन्। अभियोजक क्लेयर म्याथ्युजका अनुसार ढकालले पीडितलाई ‘दोस्रो बाबु’ जस्तो व्यवहार गर्दै विश्वास जित्थे र पछि त्यसकै दुरुपयोग गर्थे। पीडितलाई साँचो बोलेपछि अझै ठूलो चोट पुग्न सक्छ भनेर दबाब दिने गरिएको अभियोजन पक्षले जनाएको छ।