काठमाडौंमा विदेशी पर्यटकमाथि कुटपिट

आप्रवासन आप्रवासन

काठमाडौं भ्रमणमा आएका एक इजरायली नागरिक काठमाडौं–१६, कालधारा चोकमा कुटपिटमा परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार २५ वर्षीय अल्मोग आर्मोजा सोमबार राति लगभग १० बजे अपरिचित व्यक्तिको आक्रमणका शिकार बनेका हुन्। आर्मोजा त्यही क्षेत्रको एक होस्टेलमा बसोबास गर्दै आएका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले आसपासका ऋऋत्ख् फुटेजहरू समेत परीक्षण गरिरहेको बताइएको छ। नेपालमा ट्रेकिङका लागि आएका आर्मोजा कुटिएका घटनापछि जेरुसेलमका केही सञ्चारमाध्यमहरूले ‘इजरायली भएकै कारण हमला गरियो’ भन्ने दाबी सहित समाचार प्रकाशन गरेका छन्। जेरुसेलम पोस्टसँग बोल्दै आर्मोजाले आक्रमणकारीले आफूसामु हिब्रु भाषा सुनेपछि निशाना बनाएको हुनसक्ने बताएका छन्। उनले पहिलो प्रहारले नै आफू बेहोस भएको भए परिणाम गम्भीर हुनसक्ने टिप्पणी गरेका छन्।

तर काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले भने यो घटना राष्ट्रियतासँग जोडिएको होइन भन्दै लुटपाट गर्ने उद्देश्यले भएको देखिने बताएका छन्। उनका अनुसार आक्रमणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र पक्राउ प्रक्रियामा प्रहरीले खोजतलास जारी राखेको छ।

घटनापछि आर्मोजालाई नयाँबजारस्थित पिपुल्स अस्पताल र पछि स्वेग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनी अहिले डिस्चार्ज भइसकेका छन् भने निधारमा सामान्य चोट मात्र रहेको प्रहरीले जनाएको छ।