बहादुर र दयालु गोर्खा सैनिकको देश हेर्न नेपाल आएका बेलायती राजकुमार ह्यारी

आप्रवासन आप्रवासन

 

बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल भ्रमणलाई कूटनीतिक मात्र नभई व्यक्तिगत पनि भएको बताएका छन्। पाँच दिने भ्रमणका क्रममा शनिबार अपराह्न उनी काठमाडौं आइपुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि ह्यारीले नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध स्थापना भएको २००औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी भए। कार्यक्रम उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले गोर्खा सैनिकप्रति आफ्नो गहिरो सम्मान व्यक्त गरे। उनले भने, “विश्वले गोर्खा सैनिकलाई बहादुरी र साहसका लागि चिन्ने गरेको छ। मैले उनीहरुसँग बिताएका वर्षहरूमा महसुस गरेँ कि उनीहरू विनम्र र दयालु पनि छन्।” अफगानिस्तानमा केही समय गोर्खा सैनिकहरूसँग बिताएको स्मरण गर्दै उनले भने, “यो भ्रमणले ती असाधारण सैनिकहरू जन्माउने समुदायलाई भेट्ने अवसर दिएको छ।”

ह्यारीले गोर्खा सैनिकलाई ‘नेपालका प्रसिद्ध राजदूत’ भन्दै यो भ्रमण उनीहरूप्रति सम्मान व्यक्त गर्ने अवसर रहेको बताए। विनाशकारी भूकम्पको एक वर्षमा भएको आफ्नो भ्रमण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न र पीडितलाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन पनि भएको उनले बताए।

राजकुमार ह्यारीले नेपालका सुन्दर दृश्य र सांस्कृतिक सम्पदासँग आफ्नो व्यक्तिगत जोडसमेत व्यक्त गरे। उनले सम्झाए, “मैले नेपालका दृश्य किताब र टेलिभिजनमार्फत हेरेर हुर्किएको हुँ। धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान राख्छ।” साथै, नेपालमा सहयोग वा व्यवसाय गर्न इच्छुक सबैका लागि देश खुला रहेको देखाउन चाहेको भन्दै उनले आमजनतालाई आग्रह गरे, “कृपया आउनुस्, भ्रमण गर्नुस् र नेपाल अनुभव गर्नुस्।”