दुबईमा मृत्युदण्डको फैसला सुनाइएका अमरबहादुर बचाउ अभियान सुरु

आप्रवासन आप्रवासन

दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी ‘अमरबहादुर बम बचाऊ अभियान’ ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।

नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको हो । अभियान अन्तर्गत पहिलो चरणमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

आन्दोलनका कार्यक्रममा पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाई बचाउ भनेर अभियान चलाउने, पुस १४ गते राजदूतावासलाइ पत्र बुझाइने अभियानले जनाएको छ । 

त्यस्तै, पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने,  पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, पुस २० गते हस्ताक्षर अभियान गर्ने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम समेत घोषणा गरिएको हो ।