भेनेजुएला आक्रमणप्रति दुई धारमा विश्व

आप्रवासन आप्रवासन

अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपति निकालेस मदुरो र उनकी श्रीमति सिलिया फ्लोरेस पक्राउको घटनाप्रति विश्वभरबाट प्रतिक्रिया आइरहेको छ । मादुरो र उनकी श्रीमतीलाई काराकासबाट न्यूयोर्क लगिएको छ । 
पछिल्लो घटनाप्रति बेलायतका प्रधानमन्त्री केयर स्टार्मर मदुरोको शासन अन्त्य भएको देखेर आफूले आँसु नबगाउने भनेका छन् । तर अमेरिकी सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानून तोडेको हुन सक्ने भन्दै यसमा संलग्न हुन उनले अस्वीकार गरेका छन् । 
उता, रुसको विदेश मन्त्रालयले अमेरिकालाई यस घटनाको विरोध गरेको छ । अमेरिकालाई आफ्नो अडानमाथि पुनर्विचार गर्न भन्दै मन्त्रालयले सार्वभौम देशको वैध तरिकाले निर्वाचित राष्ट्रपति र उनकी अर्धाङ्गिनीलाई रिहा गर्न भनेको छ । भेनेजुएला र अमेरिका बीच वार्ता हुनु आवश्यक रहेको पनि मन्त्रालयको भनाइ छ । चीनले पनि अमेरिकाको यस कदमलाई तानाशाही भनेको छ । 

अमेरिकाको बल प्रयोगबाट चीन गहिरो रूपमा स्तब्ध भएको भन्दै यस घटनाको कडा निन्दा गरेको चीनको विदेश मन्त्रालयले बताएको छ । साथै मन्त्रालयले अमेरिकालाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न अनुरोध पनि गरेको छ । भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँ राष्ट्रपतिलाई पक्राउ गरेर अमेरिका लैजाने ट्रम्प प्रशासनको पछिल्लो कदमको संयुक्त राष्ट्रसंघ (यूएन)ले पनि आलोचना गरेको छ । यस घटनाप्रति आफू निकै चिन्तित रहेको र यसले डरलाग्दो नजिर बसालेको चेतावनी एन्टोनियो गुट्रेसले दिएका छन् । 
अमेरिकी खर्बपति व्यापारी एलन मस्क सहित अर्जेन्टिना र इक्वेडरले ट्रम्पको कदमलाई समर्थन गरेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेनीले  ‘स्वतन्त्रताको जिन्दाबाद’ भनेका छन् । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले पनि नार्काेचाभिस्टा अपराधीहरूको साम्राज्य ध्वस्त हुन लागेको भन्ने प्रतिक्रिया दिएका छन् । ‘बधाई छ, राष्ट्रपति ट्रम्प । यो सम्पूर्ण विश्वको लागि जीत हो । विशेष गरी तानाशाहहरूलाई यो स्पष्ट सन्देश हो,’ मस्कले एक्समा एउटा पोष्टमा भनेका छन् । 
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्पको कदमप्रति मिश्रित प्रतिक्रिया दिएकी छिन् । ‘भेनेजुएलामा के भइरहेको छ भनेर मैले नजिकबाट नियालेको छुँ’ इन्स्टाग्राममा पोस्ट सेयर गर्दै उनले लेखेकी छिन् । ब्राजिलका राष्ट्रपति लुइजिनासियो लुला दा सिल्भाले अमेरिकी कदमको निन्दा गर्दै यो भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको बताएका छन् । युरोपेली संघले पनि अमेरिका र भेनेजुएलालाई संयम अपनाउन अपील गरेको छ ।