वैदेशिक अध्ययनका सिलसिलामा जापानमा रहेका एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–३ स्थायी घर भई हाल जापानको फुकुओकामा बस्दै आएका २३ वर्षीय निरज विष्ट मृत अवस्थामा फेला परेका हुन्। प्राप्त जानकारीअनुसार जनवरी ११, २०२६ आइतबार राति कामबाट फर्किएपछि खाना खाई सुतेका विष्ट भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि साथीहरूले कोठामा जाँच गर्दा उनी ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए।
सुदूरपश्चिमेली नेपाली समाज जापानका अनुसार विष्ट उच्च शिक्षा अध्ययनका लागि करिब एक वर्षअघि जापान आएका थिए। कलिलो उमेरमै परदेशमा भएको यो घटनाले जापानस्थित नेपाली समुदाय शोकमा डुबेको छ। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने जनाइएको छ।