नेपालको पर्यटनमा फेक रेस्क्यु को धन्दा, हेलिकोप्टरदेखि अस्पतालसम्मको मिलेमतो

आप्रवासन आप्रवासन

नेपालको पर्यटन क्षेत्रलाई नै बदनाम बनाउने गरी विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी अर्बौँ ठगी गरेको आरोपमा तीनवटा कम्पनीका सञ्चालकसहित ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका रवीन्द्र अधिकारी र विवेकराज थपलिया तथा एभरेस्ट इक्स्पेरियन्सका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। सन् २०२२ यता यी कम्पनीहरूले ३१७ वटा नक्कली उद्धारको कागजात खडा गरी कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ८५ करोड ६२ लाख रुपैयाँ) बिमा रकम दाबी गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानका अनुसार माउन्टेन रेस्क्युले मात्रै १ अर्ब ४९ करोड, नेपाल चार्टरले १ अर्ब १९ करोड र एभरेस्ट इक्स्पेरियन्सले १६ करोड रुपैयाँभन्दा बढीको शंकास्पद बिमा दाबी गरेका छन्। उनीहरूले एउटै हेलिकोप्टरमा धेरै पर्यटकलाई सँगै ल्याए तापनि कागजातमा भने फरक–फरक ठाउँ र समयमा उद्धार गरिएको भन्दै नक्कली हस्ताक्षर र महँगो शुल्क राखेर विवरण पेस गर्ने गरेका थिए। एकै पटक पाँचजना उद्धार गर्दा पनि छुट्टाछुट्टै उडान देखाएर ठगी गरेको तथ्य सिआइबीले फेला पारेको हो।
यस गिरोहले योजनाबद्ध रूपमा पर्यटकका गाइडलाई प्रयोग गरी उचाइमा पुगेका विदेशीलाई सामान्य लेक लाग्दा पनि मृत्युको डर देखाएर आतंकित पार्ने र हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याउने गर्थे। अस्पताल, ट्राभल एजेन्सी, हेलिकोप्टर कम्पनी र रेस्क्यु कम्पनीबीचको मिलेमतोमा नक्कली स्वास्थ्य रिपोर्ट र उडान विवरण तयार पारिन्थ्यो। सिआइबी प्रमुख एआइजी डा। मनोज केसीका अनुसार यो ठगीमा सिंगो संयन्त्र नै संलग्न रहेको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन व्यवसायमाथि नै संकट निम्त्याउन सक्ने देखिएकाले गम्भीर अनुसन्धान अघि बढाइएको हो।