राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताएका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन्।
“आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु”, राष्ट्रपति पौडेलले भने।
उनले जापानमा विभिन्न पेसा र क्रियाकलापमा आबद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आइपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाे बताए ।
उनले नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्कक्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक रहेकाे बताए ।
राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवं विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिए।
“नेपालमा भएको युवापुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसैअनुरूप जनताको सर्वोपरि हित रक्षा गर्दै सुशासनमार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।